काभ्रे – एक भू – माफिया, जसले किर्ते हस्ताक्षर गर्दै फिल्डमा अर्कैको नाममा भएको जग्गा धेरै जनालाई बेच्न भ्याए । पछिल्लोपटक ती भू – माफियाले डिएसपी माधवराज खरेलकी पत्नीलाई समेत ठगी गरी फिल्डमा अर्कैको नाममा रहेका जग्गा बिक्री गरेपछि उनको पोल खुलेको हो ।
अनुशन्धानका क्रममा पनि फर्जी लालपूर्जा बनाइ नक्कली जग्गा बिक्री गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालयले अर्काको जग्गा देखाएर नक्कली पूर्जा बनाइ बिक्री गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान पनि अगाडि बढाएको छ । हुँदै नभएको जग्गा खरिद गर्नेमध्ये चार जनाले प्रहरीमा गरेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा जिल्ला मालपोत कार्यालयका कर्मचारीसहित केही व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको जीवनपुर–५ घर भई काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका – ९ बस्ने रविप्रसाद रेग्मी, मालपोतका कर्मचारी रामविनय यादव र सतिश भण्डारी छन् । यादव र भण्डारीले नक्कली जग्गा बिक्री गर्ने गिरोहसँगको मिलेमतो रहेको प्रहरीले जनाएको छ ।
ठगी गर्दा जग्गाको लालपुर्जाको फोटोमा किर्ते हस्ताक्षर गरी किर्ते लालपुर्जा दिएको थाहा पाएपछि डिएसपी पत्नी निर्मला उप्रेती पनि प्रहरी कार्यालय धुलिखेल पुगेकी थिइन् । आपूm ठगिएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् । ठगी गर्ने व्यक्तिले काभ्रे जिल्ला बनेपा नगरपालिका – १ स्थित चाइना टाउनको बास्केटबल कोर्ट अगाडि रहेको विभिन्न कित्ताको जग्गा आफ्नो नाममा रहेको भन्दै बिक्री गरेका थिए । यथार्थमा भने उक्त जग्गा काभ्रे जिल्ला बनेपा नगरपापालिका – २ बस्ने ज्ञानबहादुर खड्गीलगायत ६ जनाको नाममा रहेको छ ।
ठगी गर्ने व्यक्तिले उक्त जग्गाको नक्कली धनीपुर्जा र नक्सा सिटसमेत तयार पारेका थिए । त्यही नक्कली धनी पुर्जा र नक्सा सिट देखाएर उनले उक्त जग्गा किनबेच गर्नका लागि बैना रकमसमेत लिई नक्कली राजीनामा कागज गराइएको पाइएको छ । सो क्रममा घर बाटोको सिफारिसपत्र, जग्गा धनी दर्ता प्रमाण पुर्जाजस्ता कागजातको आधारमा जग्गा पास गरी दिई मालपोत कार्यालयबाट जारी गरिने जग्गा धनी दर्ता प्रमाण पुर्जासमेत किर्ते बनाई बिक्री गरिएको पाइएको छ ।
रेग्मीले अर्काको नाममा रहेको जग्गा आफ्नो हो भनी पीडितहरूलाई आफ्नो नामको नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा देखाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ । रेग्मीले जग्गा पास गर्नका लागि चाहिने कागजातहरू समेत नक्कली बनाएर मालपोत कार्यालयका कर्मचारीहरूसँग पनि आफ्नो राम्रो चिनजान रहेको विश्वास दिलाई पीडितहरूलाई किर्ते जग्गा धनी प्रमाण पुर्जा दिएको खुलेको छ ।रेग्मीले पीडितहरूबाट १ करोड २१ लाख ५० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको जानकारी जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले दिए । उनका अनुसार पीडितहरूबाट मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम ठगी कसुरमा जाहेरी दरखास्त लिएर रेग्मीलाई पक्राउ गरिएको हो ।
रेग्मीलाई २ साउनमा बनेपा नगरपालिका–९ बाट पक्राउ गरिएको हो । रेग्मीको घरबाट नक्कली जग्गा धनी पुर्जालगायतका महत्वपूर्ण कागजात र ८ लाख ५० हजार रुपैयाँ नगदसमेत प्रहरीले बरामद गरेको छ । रेग्मीलाई लेखापढी व्यवसाय गर्ने पनौती नगरपालिका–९ का ४५ वर्षीय राजन थापा र निजकी श्रीमती ४२ वर्षीया सीताकुमारी थापाले किर्ते कागजात बनाउन सहयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । लेखनदास थापाको कार्यालयबाट पनि विभिन्न कागजात प्रहरीले बरामद गरेको छ ।
घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेका अन्य व्यक्तिको पहिचान गरी खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका रेग्मीविरुद्ध यसअघि ०६८ साल असार १४ गते जिल्ला प्रहरी कार्यालय कास्की र ०६९ साल चैत १० गते जिल्ला प्रहरी कार्यालय काठमाडौंमा समेत ठगी मुद्दा दर्ता भएको प्रहरी अभिलेखबाट खुल्न आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar