एसपीको संयोजकत्वमा छानविन समिति गठन
काठमाडौं – कस्तुरीको बिना बरामद घटनामा प्रहरीकै मिलेमतो रहेको आशंका गरिएको छ । यस सम्बन्धमा छानविन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) को संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।
असार २४ गते साँझ प्रहरी वृत्त गौशालाले कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको थियो । चाबहिलस्थित सडकबाट कस्तुरीको बिनासहित पाँचथर तुमविया गाउँपालिका–५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बु पक्राउ परेका थिए । लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको सूचना पाएपछि बिनासहित प्रहरीले लिम्बुलाई नियन्त्रणमा लिएको थियो ।
लिम्बुका आफन्तले गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयमा प्रहरीबाटै फसाइएको गुनासो गरेपछि मुख्यालयले छानविन समिति गठन गरेर सत्यतथ्यबाहिर ल्याउन रानीपोखरी प्रहरीलाई निर्देशन दिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी दिलीप घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी कृष्ण चन्द र प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला छन् । लिम्बुलाई बिनासहित पक्राउ गरिएको घटनामा उनकै आफन्तले सिसिटिभी फुटेज हेरेर प्रहरीकै माथिल्लो तहमा उजुरी गरेका थिए ।लिम्बु चाबहिल सडक खण्डमा मोटरसाइकल रोखेर एक रेस्टुरेन्टमा छिरेका थिए । त्यसको केही समयपछि अर्का एक जना व्यक्ति आएर लिम्बुको मोटरसाइकलमा केही वस्तु राखेजस्तो दृश्य सिसिटिभी फुटेजमा देखिन्छ ।
मोटरसाइकलको सिटमुनि केही वस्तु राखेका ती व्यक्ति त्यसपछि सडक पारितर्फको सैलुनमा जान्छन् । त्यसको केही समयमा नै सादा पोसाकका प्रहरी आएर लिम्बु बसेको होटलमा छिरेर उनलाई पक्राउ गरेको दृश्य सिसिटिभी फुटेजमा देखिन्छ । फुटेजमा लिम्बुको मोटरसाइकलमा बिना रहेको भन्दै उनलाई हत्कडीसमेत लगाएपछि बर्दिसहितको प्रहरी टोली आएर घटनास्थल मुचुल्का गरेको दृश्य देखिन्छ । प्रहरी केन्द्रीय प्रवक्ता टेकप्रसाद राईका अनुसार घटना शंकास्पद रहेको दाबी लिम्बुका आफन्तले गरेपछि सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गरिएको हो ।
समितिको प्रतिवेदनका आधारमा लिम्बु वा प्रहरी को दोषी हो पहिचान भएपछि कारबाही हुने जानकारी राईले दिए । यसअघि पनि रौतहटमा यस्तै प्रकृतिको घटना भएको थियो । प्रहरीकै मिलेमतोमा एक पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोजिएको थियो । पछि उक्त क्षेत्रको सिसिटिभी फुटेज हेर्दा योजनाबद्ध तरिकाले फसाउन खोजेको पुष्टि भएपछि प्रहरीलाई फौजदारी मुद्दा चलाइएको थियो । उक्त घटनामा प्रहरी नै पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar