जनकपुर – जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवशंकर साहलाई ३,९३३ मतान्तरले पराजित गर्दै १३,४६५ मत ल्याई विजयी भएका हुन् । गठबन्धनबाट कांग्रेसले जनकपुरमा मेयर नपाउने भएपछि मनोजकुमारले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए। जितपछि प्रतिक्रिया दिँदै उनले आफूलाई कांग्रेसले नै जिताएको बताएका छन् । पार्टीले उम्मेदवार उठाउँदा गल्ती गरे पनि मतदाताले आफूलाई न्याय दिएको उनको भनाइ छ ।
गठबन्धनबाट टिकट नपाएपछि कांग्रेसको साधारण सदस्यबाट समेत राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई नेता विमलेन्द्र निधिको साथ थियो । टिकट वितरण र गठबन्धबाट असन्तुष्ट निधि मनोजलाई जिताउन जनकपुरमै बसेर नेता कार्याकर्तालाई परिचालन गरेका थिए । गठबन्धनबाट जनकपुरधामको प्रमुख पदमा जसपाका लालकिशोर साहलाई टिकट दिएपछि कांग्रेसका नगर साभापतिसमेत रहेका साहले उम्मेदवारी दिएका हुन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह १५,५२५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार रुणादेवी झाले १०,८८५ मत ल्याएकी छन् । निवर्तमान मेयर लालकिशोर साह भने चौथो स्थानमा रहे । गठबन्धनका तर्फबाट जसपाका साहले ५ हजार १ सय ९४ मत ल्याए । उनीभन्दा अगाडि रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए ।
मतगणना सुरु भएदेखि नै अग्रता बनाएका मनोज साहलाई एमालेका शिवशंकर साहले केही हदसम्म टक्कर दिए पनि सत्तागठबन्धन दलका उम्मेदवार लालकिशोर साह चौथो र पाँचौँ नम्बरभन्दा माथि उक्लिन सकेनन् । जनकपुरधाम उपमहानगरपालिकाका २५ मध्ये अधिकांशमा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेले यस पटक अपेक्षाकृत राम्रो प्रदर्शन गरेको छ ।
रामनारायण मिश्र, महेन्द्रनारायण निधि र सरोजप्रसाद कोइरालाजस्ता हस्तीहरुको कर्मस्थल जनकपुरधामलाई नेपाली कांग्रेसको गढ मानिए पनि यहाँबाट नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार नगरप्रमुख निर्वाचित भएका छैनन् । कांग्रेसका बागीहरु भने पटक–पटक निर्वाचित भएको इतिहास छ । कांग्रेसका बागी भई नगर प्रमुख निर्वाचित हुने मनोज साह तेस्रो नेता हुन् ।
०४९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले दिगम्बर रायलाई आधिकारिक उम्मेदवार बनाएको थियो । उनलाई नेकाकै वृशेषचन्द्र लालले हराएर मेयर निर्वाचित भएका थिए भने २०५४ सालको निर्वाचनमा पनि कांग्रेसका आधिकारिक उम्मेदवार दामोदरप्रसाद उपाध्यायलाई पराजित गरी नेपाली कांग्रेसका बागी उम्मेदवार बजरंगप्रसाद साह विजयी भएका थिए ।
२०७४को स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट निवर्तमान मेयर लालकिशोर साह तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार मनोज साहलाई झन्डै ११ हजार मतान्तरले पराजित गरी नगरप्रमुख निर्वाचित भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar