काठमाण्डौ – चुलिँदो व्यापार घाटा रोक्न राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गरे पनि प्रति महिना करिब डेढ खर्ब रूपैयाँभन्दा घट्न सकेको छैन। विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले केही वस्तुको आयतमा कडाइ गरे पनि आयातमा खासै कमी आएको छैन।
मासिक सरदर डेढ खर्ब रूपैयाँका वस्तु आयात हुँदै आएकोमा राष्ट्र बैंकको कडाइपछि पनि चैत महिनामा मात्र एक खर्ब ५८ अर्ब ५२ करोड रूपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ। चालु आवको नौ महिनामा १४ खर्ब ४४ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। मुलुकको व्यापार घाटा १३ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ। पोहोरको चैतसम्म व्यापार घाटा १० खर्ब १६ अर्ब थियो।
चालु आवमा १४ खर्ब ६६ अर्ब रूपैयाँको वस्तु आयात भएकोमा एक खर्ब ३० अर्ब रूपैयाँको मात्र वस्तु निर्यात भएको छ। गत वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो। पोहोरको तुलनामा चैतसम्म तीन खर्ब ३३ अर्ब रूपैयाँको वस्तु आयात बढेको छ।
पोहोरको तुलनामा प्रतिशतका हिसाबले आयात घटेको देखिए पनि मूल्यमा घटेको देखिँदैन। मुलुकको कुल वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब रूपैयाँ पुगेको छ। आयातको हिस्सा ९२.१४ प्रतिशत छ भने निर्यात ७.८६ प्रतिशत मात्र रहेको छ। पोहोरको तुलनामा आयात ३१.९७ प्रतिशतले बढेको छ भने निर्यात ६९.४४ प्रतिशतले बढेको छ।
गत आव २०७७/७८ मा वार्षिक व्यापार घाटा १३ खर्ब ९९ अर्ब रूपैयाँ थियो भने कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब थियो। अहिले नौ महिनामै व्यापार घाटा गत वर्षको १२ महिना हाराहारी पुगेको छ। यो वर्षको नौ महिनामा व्यापार घाटा १३ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ।
राष्ट्र बैंकले केही वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन र केहीमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ। चकलेट, चुइगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृङ्गारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचरजस्ता वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
निर्यात व्यापारमा सुधार भए पनि सानो हिस्सा भएकाले यसले त्यति ठूलो प्रभाव पार्न सकेको छैन। नेपालबाट निर्यात हुने ठूलो हिस्सामा पाम तेल, सोयाबिन तेल, भटमास तेल रहेको छ। यी वस्तुको कच्चा पदार्थ विदेशबाट आयात गरेर फेरि भारत निर्यात हुने गरेको छ।
यहाँका उद्योगीले इन्डोनेसियाबाट पाम आयलको कच्चा पदार्थ ल्याएर भारत निर्यात गर्दै आएका थिए। इन्डोनेसियाले पाम आयलको निर्यातमा अहिले रोक लगाउने निर्णय गरेको छ। इन्डोनेसियाले अप्रिल २८ देखि लागू हुने गरी पाम आयल निर्यातमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। पाम आयल निर्यात गर्ने रोकसँगै त्यसको असर नेपाली बजारमा पर्ने भएको छ। नेपालबाट भारततर्फ ठूलो मात्रमा पाम आयल निर्यात हुँदै आएको थियो। निर्यातमा पाम आयलको हिस्सा करिब २४ प्रतिशत छ। यसको कारण निर्यातको हिस्सा पनि घट्ने भएको छ। चैतसम्म नेपालबाट करिब ३८ अर्ब रूपैयाँको पाम आयल निर्यात भएको छ। अब निर्यात घट्ने देखिन्छ।
नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ। नौ महिनाको अवधिमा भारतसँगको व्यापार घाटा सात खर्ब ७३ अर्ब ८० करोड रूपैयाँ रहेको छ। भारतबाट नौ खर्ब एक अर्ब रूपैयाँको वस्तु आयात भएकोमा एक खर्ब २७ अर्ब रूपैयाँको वस्तु मात्र निर्यात भएको छ।
स्वदेशमा उत्पादन हुने कृषिजन्य वस्तुको आयात पनि उच्च छ। कृषि प्रधान मुलुक भनिँदै आए पनि नेपालले पछिल्लो समय अर्बौं रूपैयाँको कृषिजन्य आयात गर्दै आएको छ। खाद्यान्न आयात पनि उच्च छ। चालु आवको नौ महिनामा १५ अर्ब २२ करोडको धान, २४ अर्ब ९० करोडको चामल, ५ अर्ब ३० करोडको गहुँ, १५ अर्ब ५ करोडको मकै आयात भएको छ। नौ महिनामा १ खर्ब ५ अर्ब ९७ करोड रूपैयाँको डिजेल, पेट्रोल ४७ अर्ब २३ करोड, ग्यास ४५ अर्ब ३४ करोडको आयात भएको भन्सार विभागले जनाएको छ।
राष्ट्र बैंकले विलासी वस्तुको आयातमा कडाइ गरेको बताए पनि तथ्यांकले आयातमा कमी भएको देखिँदैन। अर्बौं रूपैयाँका सवारी साधन, सुन, चाँदी, मदिरा, मोबाइल, कस्मेटिक सामान आयात भएको छ। चैत महिनासम्म ४६ अर्ब ३४ करोड रूपैयाँको सवारीसाधन तथा तिनका पार्टपुर्जा, ३ अर्ब १० करोडको ड्राई फ्रुट्स आयात भएको छ।
व्यापार घाटा वृद्धि, विदेशबाट रेमिट्यान्स आगमनमा कमी, विदेशी मुद्रा सञ्चितिमा गिरावट हुँदा अर्थतन्त्र समेत समस्यामा परेको छ। डलर घट्दै गएपछि राष्ट्र बैंकले वस्तु आयातमा कडाइ गरिरहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar