काठमाण्डौ – विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक इण्डोनेशियाले निकासी बन्द गरेको छ ।
रुस – युक्रेन युद्धको प्रभाव देखाउँदै राष्ट्रपति जोको विडोडोले इण्डोनेशियाबाट पाम तेलको निकासी पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । रुस–युक्रेन युद्धको असरका कारण यतिबेला विश्वभर खानेतेलको मूल्य अनियन्त्रित गतिमा बढिरहेको छ । युक्रेनमा उत्पादन हुने भटमास, तोरी र सूर्यमूखीको तेल यतिबेला विश्वमा निकासी हुन रोकिएको छ ।
रुसले हमला गरेका कारण युक्रेनबाट विश्वभरको बजारमा आपूर्ति हुँदै आएको खानेतेलको निकासी रोकिएको हो । यससँगै, विश्व बजारमा खानेतेलको मूल्य दिनदिनै बढिरहेको छ । राष्ट्रपति विडोडोले विश्वभरमा तेलको मूल्य बढेका कारण आन्तरिक माग धान्न निर्यात रोक्ने निर्णय गरेको जनाएका छन् । इण्डोनेसिया र मलेशिया पाम तेल उत्पादनको क्षेत्रमा विश्वकै अब्बल मानिन्छन् । पाम तेलको प्रयोग कस्मेटिकदेखि प्याकेजिङ गरिने खाद्यान्नसम्ममा प्रयोग हुन्छ । इण्डोनेशियाले यसको निर्यातमा रोक लगाएसँगै विश्वव्यापी रूपमा प्याकेजिङ गरिएका खाद्यान्नको मूल्य बढ्ने आङ्कलन गरिएको छ ।
विश्वमा निर्यात हुने कुल पाम तेलमा इण्डोनेशियाको हिस्सा करिब ५० प्रतिशत छ । इण्डोनेशिया विश्वको ठूलो तेल उत्पादक र निर्यातक हो भने भारत विश्वको सबैभन्दा ठूलो खरिदकर्ता हो । भारतमा यसको प्रयोग ‘स्ट्रिट फूड’देखि, दूनोट, बेकरी, कस्मेटिक बनाउने लगायत खाने तेलको रूपमा समेत प्रयोग गरिन्छ । यसका साथै, भारतमा ‘जंक फूड’को उत्पादनमा समेत पाम तेलको प्रयोग हुन्छ । त्यसैले इण्डोनेशियाको यो निर्णयले सबैभन्दा ठूलो असर भारतलाई पर्छ ।
भारतको सोलोभेन्ट एक्सट्र्याक्टर्स एसोसिएशन अफ इण्डियाका अध्यक्ष अतुल चतुर्वेदीले यस निर्णयबाट सबैभन्दा धेरै अप्ठ्यारो भारतलाई पर्ने बताएका छन् । उनले इण्डोनेशिया सरकारको यो निर्णय अकल्पनीय र आकस्मिक भएको समेत बताए । कास्मिर मुद्धामा पाकिस्तानको पक्षमा बोलेपछि मलेसियासँग भारतको राम्रो व्यापारिक वातावरण छैन ।
जबकि इण्डोनेशियाको विकल्पको रूपमा भारतले मलेसियाबाट पाम तेल खरिद गर्न सक्थ्यो । यसका साथै अन्य वनस्पति तेलहरू भटमास, तोरी र सूर्यमूखी तेलको मूल्य समेत उकालो लागेको छ । यसबाहेक, मलेसिया आफै पाम तेलको न्यून उत्पादनबाट गुज्रिरहेको छ । साथै, अर्जेन्टिना, ब्राजिल र क्यानडामा ठूलो खडेरीले ती देशबाट तेल आपूर्तिको विकल्प समेत छैन । ती देशको उत्पादनमा खडेरीबाट क्षति पुगेपछि भटमास र तोरीको तेल आपूर्ति समेत सहज नरहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
खास गरी, इण्डोनेसियामा खाना पकाउने तेलको मूल्य १.८४ डलर प्रतिलिटर पुगेको छ । यो, एकै वर्षमा आएको ४० प्रतिशतको वृद्धि हो । देशका केही राज्यहरूमा गत महिना मात्रै मूल्य दोब्बरले बढेको छ । जसकारण, बढेको मूल्य नियन्त्रण गर्न राष्ट्रपतिले निर्यात रोक लगाउने घोषणा गरेका हुन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar