धादिङ – उकालो – ओरालो, घुमाउरो, साँघुरो र घुम्तीले गर्दा नौबिसेदेखि नागढुंगा सडकको यात्रा कष्टकर छ । हरेक चाडपर्वका बेला सवारीसाधनको अत्यधिक चापका कारण जाम पर्ने गरेको छ । अर्कोतर्फ नागढुंगा – मुग्लिङ सडक चार लेनको बनाउने योजनाअनुसार ठेक्का लागिसकेको छ । त्यसैले सरकारले धार्के – सीतापाइला सडकलाई विकल्पका रूपमा लिएको छ । अहिले यही सडकको स्तरोन्नति कार्य धमाधम छ । धादिङतर्फ पर्ने धार्केदेखि ठूलोखोलासम्मको १४ कि.मि र काठमाडौंतर्फ पर्ने ठूलोखोलादेखि सीतापाइलासम्मको १० किमि सडकको केही भाग कालोपत्रसमेत भइसकेको छ ।
यो सडक सीतापाइला ९चक्रपथ० देखि रामकोट – भीमढुंगा – महेशफाँट हुँदै धार्के पुग्नेछ । सीतापाइलादेखि धार्केसम्म कुल २४ किमि रहेको यो खण्डको चौडाइ १२ मिटर हुने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । यो सडकखण्ड कालोपत्र भएपछि धार्के हुँदै काठमाडौं आउजाउ गर्ने यात्रुलाई सहज हुनेछ । नागढुंगा – मुग्लिङ सडक चार लेनको पार्ने क्रममा धार्केदेखि काठमाडौंतर्फको यातायात व्यवस्था पनि सहज हुने सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमाल बताउँछन् । दूरीका हिसाबले पनि नौबिसे – नागढुंगा रुटभन्दा धार्के – सीतापाइला सडक काठमाडौं प्रवेशका लागि छोटो पर्छ ।
सडक विस्तारका लागि काठमाडौं खण्ड र धादिङ गरी दुई भागमा विभाजन गरी काम भइरहेको छ । सडकलाई फराकिलो बनाउन सडक विभागले दुईवटा आफ्ना सडक डिभिजन कार्यालयलाई जिम्मेवारी दिइसकेको छ । धार्केबाट १४ किमि सडक डिभिजन कार्यालय नुवाकोट र काठमाडौंतर्फको १० किमि सडकको स्तरोन्नति सडक डिभिजन कार्यालय काठमाडौंले गरिरहेका छन् । सडक डिभिजन कार्यालय नुवाकोटले धादिङ खण्डको धार्केदेखि ठूलोखोलासम्मको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ । धार्केदेखिको तीन किमि सडक कालोपत्र गर्ने तयारीमा छ । बाँकी ११ किमि ठेक्का आह्वान गरेको छ । आगामी दुई वर्षमा सडक निर्माण सक्ने गरी काम थालिएको सडक डिभिजन नुवाकोटका प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।
‘धादिङतर्फको तीन किमि सडक कालोपत्र गर्ने तयारीमा धमाधम काम भइरहेको छ,’ उनले भने, ‘बाँकी ११ किमिका लागि ठेक्का आह्वान गरेका छौं, त्यो पनि अब चाँडै प्रक्रिया पूरा गरेर काम थाल्नेछौं ।’ सडकमा सीएमरदिव्यज्योतिरनाना जेभीले काम गरिरहेको छ । तीन किमि सडक कालोपत्र गर्न १५ करोड लाग्ने अनुमान छ । १४ किमि नै कालोपत्र गर्न ९० करोड लाग्ने रिमालले बताए । ठूलोखोलादेखि सीतापाइलासम्म १० किमि दूरी छ । काठमाडौंतर्फ पर्ने सीतापाइलादेखि रामकोटसम्मको ५ किमि सडकमा कालोपत्र भइसकेको छ । रामकोटदेखि काठमाडौं – धादिङको सिमाना ठूलोखोलासम्मको बाँकी ५ किमि सडकमा भने अहिले धमाधम काम भइरहेको छ । सीतापाइलादेखि रामकोटसम्मको सडक स्तरोन्नति गर्न सरकारले २७ करोड रुपैयाँ खर्चेको थियो । रामकोटदेखि ठूलोखोलासम्मको सडक स्तरोन्नतिका लागि यस वर्ष ३५ करोड ३० लाख रुपैयाँको ठेक्का लगाइएको थियो । उक्त सडक कान्छाराम सीएम बेदान्सी जेभीले स्तरोन्नति गरिरहेको छ ।
१० मिटर चौडाइसहित दुई लेनमा सवारी दौडाउन सकिने गरी बनिरहेको यो बाटोमा दायाँबायाँ १र१ मिटरको ढल निकास गरी जम्मा १२ मिटरमा काम भइरहेको छ । अहिले सडक चौडा गर्ने, पर्खाल तथा नाली बनाउनेसहितका काम अगाडि बढिरहेको डिभिजन प्रमुख रिमाल बताउँछन् । ‘काठमाडौंबाट नौबिसे हुँदै धार्केसम्म जाने सडकखण्डको उपयुक्त विकल्प सीतापाइलाबाट धादिङको महेशफाँट हुँदै धार्के जोड्ने सडक भएकाले सोहीअनुसार प्राथमिकतामा राखेर सडक विस्तार कार्य सुरु गरेको हौं,’ रिमाल भन्छन्, ‘यो सडक पूर्ण रूपमा समयमै सम्पन्न भए काठमाडौं भित्रिँदा र बाहिरिँदा नागढुंगाको जाम छल्ने एउटा सशक्त विकल्प तयार हुनेछ ।’
पहिलो चरणमा सडक फराकिलो बनाउने तथा कल्भर्ट, पर्खालसहित आवश्यक पूर्वाधार तयार गर्ने र अर्को चरणमा सडक कालोपत्र गर्ने योजनासहित काम गरिएको छ । सडक दुई लेनको भएपछि काठमाडौंदेखि नौबिसे पुग्न र नौबिसेबाट काठमाडौं फर्कन दुई विकल्प तयार हुनेछ । नागढुंगामा सानो समस्या आए पनि घण्टौं रोकिनुपर्ने बाध्यता सडक फराकिलो भएपछि रोकिनेछ । समयमै सडक निर्माण सकिए मात्र नागढुंगा–मुग्लिङ सडक विस्तारको काम अघि बढाउन सकिने डिभिजन प्रमुख रिमालको भनाइ छ । ‘अन्यथा सवारी आवागमनका लागि नागढुंगा–मुग्लिङ सडक नै प्रयोग गर्नुको विकल्प नभएकाले त्यसलाई चार लेनमा विस्तारको योजनामा काम गर्न असम्भव छ,’ उनले भने । गत वर्षको जेठबाट सुरु गरिएको सडक दुई वर्षमा सक्ने लक्ष्यसाथ काम थालिएको छ ।
२०४४ सालमै ट्र्याक खोलिएको यो सडक त्यसयता सामान्य स्तरोन्नति हुँदै आए पनि बेवास्ता गरिएको थियो । अहिले भने सडक स्तरोन्नति चलिरहेका कारण केही आशा पलाएको धुनीबेसी नगरपालिकास्थित पुरानो धार्केका स्थानीय रामकुमार तामाङ बताउँछन् । कान्तिपुर दैनिकवाट ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar