काठमाण्डौ – चालु आर्थिक वर्ष २०७८/७९ को चैत मसान्त सम्ममा १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँको बस्तु आयात भएको छ । सोही अवधिमा निर्यात भने नगण्य रहेको कारण १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँमा खुम्चिएको छ । सोही कारण व्यापार घाटा १३ खर्ब ६ अर्ब ९० लाख रुपैयाँ पुगेको हो ।
नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव १३ प्रतिशत र निर्यातको हिस्सा ९ दशलमव ८७ प्रतिशत रहेको छ । चैत मसान्त सम्म आइपुग्दा निर्यातमा देखिएको उच्च वृद्धिका कारण निर्यातको हिस्सा समेत बढ्दै गएको देखिएको हो । आयातको ग्राफ बढ्दै गएको कारण ब्यापार घाटा बड्ने क्रम जारी रहेको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु वर्षको ९ महिना र गत वर्ष सोही अवधिको तुलनामा ३१ दशलमव ९७ प्रतिशत बढी आयात भएको छ । निर्यात भने गत वर्षको तुलनामा ६९ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । आयातीत वस्तुमा पेट्रोलियम पर्दाथ बाहेकका अन्य बस्ुतमा फलामजन्य कच्चा पदार्थको आयात पनि बडदो देखिएको छ । ९ महिने अवधिमा ३८ अर्ब ५३ करोड बराबरको फलामको कच्चा पदार्थ आयात भएको छ ।
सोयाबिन तेल र पाम आयतलको आयात उच्च रहेको छ । सोयाबिन तेल अर्जेन्टिनाबाट मात्रै ३० अर्ब ७५ करोडको आयात भएको विभागको तथ्यांकले देखाएको छ । इन्डोनेसियाबाट २५ अर्ब ८९ करोड बराबरको पाम तेल आयात भएको छ । त्यसैगरी ६ सय मिलिमिटरसम्मको फलामको पाता आयात भएको पनि बिवरणले देखाएको छ । यो २२ अर्ब ८५ करोड बराबरको हो । सुन आयात पनि उल्लेखनिय रहेको छ । युनाइटेड अरब इमिरेटसबाट मात्रै २२ अर्ब ६२ करोड बराबरको सुन आयात भएको छ ।
टेलिफोन र वायरलेस नेटवर्कहरु चीनबाट २० अर्ब ६२ करोडको आयात भएको छ । खाद्यान्न तर्फ चामल आयात घटाउने भने पनि कार्यान्वयनमा आउन सकेको छैन । सरकारले कृषि प्रधान देश भने पनि खाद्यान्न्नमा अझै परनिर्भरता कायमै छ । यो अवधिमा १९ अर्ब १९ करोडको चामल आयात भएको छ ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै अतिआवश्यक बाहेकका वस्तुको आयातमा कडाई गरेपछि त्यस्को असर राजस्वमा परेको छ । यसअघि गत माघ र फागुनमा २ पटक परिपत्र जारी गर्दै विभिन्न ४७ प्रकारको हार्माेनिक कोड भएका वस्तुको आयातमा केन्द्रीय बैकले कडाइ गरेको थियो । बैंकले पछिल्लो समय अति आवश्यक बाहेकका वस्तुको एलसी समेत बन्द गरेको छ ।
बैंकले गत माघ २६ र २७ एवं माघ ५ मा २० वस्तु गरी ४७ वटा होर्मोनिक कोडबाट एलसी खोल्दा ६ वस्तुमा ५० प्रतिशत र ४१ वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो । त्यस्तै, गत चैत महिनामा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर अतिआवश्यक बाहेकका वस्तुको आयातमा एलसी नखोल्न पनि केन्द्रीय बैकले निर्देशन दिएको थियो । केन्द्रीय बैंकको निर्देशनपश्चात बैंकले एलसी खोल्न बन्द गरिसकेका छ ।
गत माघ र फागुन महिनामा आयातमा खासै असर नदेखिए पनि चैत महिनामा असर देखिएको छ । राष्ट्र बैंकले गरेको नीतिगत परिवर्तनको असर देखिन थालेको आकलन गरिएको छ । भन्सार विभागका अधिकारीहरूका अनुसार राष्ट्र बैकले कडाइ गरेको वस्तुको आयातमा कमी आउँदा राजश्व संकलन प्रभावित भएको हो । पछिल्लो समय रुस युक्रेन युद्धका कारण अधिकाशं आयातित वस्तुको मूल्यमा वृद्धि भएको छ ।
केन्द्रीय बैकको कडाई गरेपछि आयातसँगै राजश्व संकलनमा समेत कमी आएको छ । गत फागुन महिनाको तुलनामा चैत महिनामा १ अर्ब बढी राजश्व संकलनमा कमी आएको छ । फागुनमा ३९ अर्ब ३३ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएकोमा चैत महिनामा ३८ अर्ब २४ करोड ६० लाख ६५ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको छ ।
गत महिनाको तुलनामा चैत महिनामा एक अर्ब ८ करोड ४१ लाख २१ हजार रुपैयाँले राजश्व संकलनमा कमी आएको हो । गत माघ महिनामा ३६ अर्ब ७ करोड र गत पुस महिनामा ४० अर्ब २७ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो ।
१ अर्ब २२ करोडको मास्क र स्यानिटाइजर आयात
चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब रुपैयाँ बाहिरिएको छ । मास्क र स्यानिटाइजर आयातका लागि १ अर्ब २२ करोड २९ लाख ३९ हजार रुर्पैयाँ बाहिरिएको हो ।विभागको तथ्यांक अनुसार नौ महिनाको अवधिमा १ अर्ब ८ करोड ७५ लाख ४० हजार बराबरको फेस मास्क र १३ करोड ५३ लाख ९९ हजार रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको छ । नेपालमा विभिन्न ३७ देशबाट १३ करोड ९८ लाख ३८ हजार वटा मास्क आयात भएको छ । मास्क आयातबाट सरकारले ८ करोड ७६ हजार रुपैयाँ बराबर राजश्व संकलन गरेको छ ।
सो अवधिमा सबैभन्दा बढी चीनबाट मास्क आयात भएको छ । चीनबाट १ करोड ३५ लाख ३९ हजार वटा मास्क आयातका लागि ८२ करोड ६४ लाख ६९ हजार रुपैयाँ बाहिरिएको छ भने सरकारले ६ करोड ८९ लाख ३४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । चीनपछि डेनमार्कबाट १३ करोड ७३ लाख २० हजार रुपैयाँ बराबरको १ लाख २० हजार वटा मास्क आयात भएको छ ।
नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश,बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार, सिंगापुर,दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका, भियतनाम, नामिबियालगायत देशबाट फेस मास्क खरिद गरेको हो ।
यो अवधिमा १३ करोड ५३ लाख रुपैयाँ बराबरको ह्यान्ड स्यानिटाइजरको आयात भएको छ । विभिन्न १० देशबाट छ लाख ५६ हजार ७५३ किलोग्राम स्यानिटाइजर आयात हुँदा सरकारले २ करोड ३९ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । नौ महिने अवधिमा बंगलादेश, चीन, भारत, इजरायल, जापान, कोरिया, ताइवान, युएई, युके र युएसएबाट स्यानिटाइजरको आयात भएको हो । सो अवधिमा सबैभन्दा धेरै स्यानिटाइजर भारतबाट आयात भएको छ । भारतबाट १० करोड ९ लाख रुपैयाँ बराबरको ६ लाख ३ हजार किलो र युएइबाट १ करोड ६४ लाख ३५ हजार बराबरको ४७ हजार किलो स्यानिटाइजरको आयात भएको छ ।
पेट्रोलियम पदार्थ आयातमा २ खर्ब बाहिरियो
चालु आर्थिक वर्षको ९ महिनामा नेपालले २ खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालले १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।
तथ्यांक अनुसार ९ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिमा एक खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रुपैयाँ बढीको पेट्रोलको आयात भएको हो । यस्तै, ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नौ महिनाको अवधिमा साढे १४ खर्ब बढीले विदेशी वस्तुको आयात भएको छ । नौ महिनाको अवधिमा नेपालमा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढीको आयात भएको हो । गत वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बढीको आयात भएको थियो । गत वर्षका तुलनामा चालु आवमा ३१.९७ प्रतिशतले आयातमा बृद्धि भएको छ ।
भारतसँग ८ खर्ब व्यापार घाटा
नेपालको वैदेशिक व्यापार भारतसँग अधिक निर्भर छ । जसका कारण ९ महिनामै भारतसँग मात्र करिब ८ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ । भारतबाट नेपालले ९ खर्ब १ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ ।
यसबीचमा निर्यात भने भारतसँग १ खर्ब २७ अर्ब रुपैयाँ बराबरको भएको छ । सोहीकारण व्यापार घाटा पनि ७ खर्ब ७३ अर्ब रुपैयाँ देखिएको छ ।
चीनबाट २ खर्ब ११ अर्बको वस्तु आयात हुँदा निर्यात भने मात्र ६२ करोड रुपैयाँ बराबरको भएको छ । अमेरिकाबाट ३८ अर्ब ७३ करोड रुपैयाँको सामान आउँदा निर्यात भने मात्र १२ अर्ब ८४ करोड रुपैयाँ बराबरको भएको छ ।
३५ अर्बको मोबाइल सेट भित्रियो
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट ५० लाख ८५९ थान मोबाइल सेट नेपाल भित्रिएको छ । ती मोबाइल आयात गर्दा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ देशबाट बाहिरिएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले कूल ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल आयात गरेको थियो । गत आर्थिक वर्ष ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको थियो ।
चालु आर्थिक वर्षमा अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चिली, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आइसल्याण्ड, भारत, इन्डोनेसिया, इराक, आयरल्याण्ड, इजरायल, इटाली, जापान, केन्या, दक्षिण कोरिया, कुवेत, लग्जेम्वर्ग, मलेसिया, माल्टा, नेदरल्याण्ड्स, न्युजल्याण्डm नर्वे, ओमान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, साउदी अरब, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, युक्रेन, युएई, बेलायत, अमेरिका, भियतनाम लगायतका देशबाट मोबाइल नेपालमा आएको छ ।
विभागको तथ्यांक अनुसार पछिल्लो नौ महिनामा चीनबाट २० अर्ब ६२ करोड ९५ लाख ९६ हजार रुपैयाँ, भारतबाट १२ अर्ब १५ करोड ७ लाख ५० हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ४९ करोड ७१ लाख १५ हजार रुपैयाँ, युएईबाट २४ करोड ३८ लाख ५० हजार रुपैयाँ, अमेरिकाबाट १२ करोड १४ लाख ३६ हजार रुपैयाँ र बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँको मोबाइल सेट नेपाल भित्रिएका छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar