कैलाली – गुणस्तरहीन काम गरेको र नगरेकै काम पनि गरेको भनेर प्रतिवेदन बनाई राज्यलाई हानी पुराएको भन्दै गोदावरी नगरपालिका कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै अख्तियारले कुल २ करोड २२ लाख ७४ हजार ८ सय ७५ रुपैयाँको मागदाबी लिँदै मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको रिटमा कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, पूर्वप्रशासकीय अधिकृत देवराज जोशी, इञ्जिनियर पूर्ण कुँवर, सव इञ्जिनियर ज्ञानेन्द्र बुढा, सव इञ्जिनियर नरेन्द्र शाही, ल्याब टेक्निसियन धन बहादुर बिष्ट र निर्माण व्यवसायी गणेश बिष्ट उपर मुद्दा दायर गरेको हो ।
अख्तियारको आरोपपत्रमा गोदावरी नगरपालिका, कैलालीमा विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधि, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राविधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको दावी गरिएको छ ।
अनुसन्धानका क्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देव राज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाई हानी नोक्सानीमा संलग्न रहेको, इन्जिनियर र सबइन्जिनियरले गुणस्तरहीन कार्य गराई नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिई नेपाल सरकारलाई हानी नोक्सानी प¥याई भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।
अख्तियारले गोदावरी नगरपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले ३१ लाख ३७ हजार ८५३ रुपैयाँ र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले २५ लाख ५२ हजार ८८६ रुपैयाँ हानी नोक्सानी पुराएको दावी लिएको छ । त्यसैगरी गोदावरी नगरपालिका, कैलालीका तत्कालीन इन्जिनियर पुर्ण कुँवरले गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरी वास्तविक कार्य सम्पादन गराई सो चेकजाँच गरी मूल्याङ्कन प्रतिवेदन पेश गर्नुपर्नेमा निजले पदीय जिम्मेवारी बमोजिम सुपरिवेक्षण गर्न नसकेको, नापी किताबमा सही गरी गुणस्तरहीन बेस र सब–बेसकोर्सको प्रयोग गरी कार्य गराउन र प्रिमिक्स कार्यमा वास्तविक कार्यभन्दा बढी कार्य नाप देखाई मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भई ५६ लाख ९० हजार ७४० रुपैयाँ हानी पुराएको उल्लेख छ ।
त्यसैगरी सब इञ्जिनियर ज्ञानेन्द्र बुढाले स्पेसिफिकेसन बमोजिम कार्य गराई तथा वास्तविक निर्माण कार्य सम्पादनको आधारमा नापी किताब तयार गरी मूल्याङ्कन पेश गर्नुपर्नेमा त्यसो नगरी ४३ लाख १७ हजार ६६६ रुपैयाँ हानी पुराएको दावी लिइएको छ । अर्का सब इञ्जिनियर नरेन्द्र शाहीले पनि सोही कार्यमा १२ लाख २४ हजार ४९५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोगमा उल्लेख छ । त्यस्तै उक्त कार्यमा प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर बिष्टले गुणस्तरहीन बेस कोर्स र सब बेस कोर्सको कार्यलाई स्तरयुक्त कार्य देखाउन टेष्ट रिपोर्ट बनाई गलत प्रतिवेदन पेश गरी ५३ लाख ५१ हजार २३४ रुपैयाँ हानी पुराएको अख्तियारको आरोप छ ।
यता निर्माण व्यवसायी गणेश बिष्टले सम्झौता बमोजिम बेस कोर्स र सब–बेसकोर्सको गुणस्तरीय कार्य गर्नुपर्नेमा सो नगरी गुणस्तरहीन कार्य गरेको र प्रिमिक्स कार्यमा तोकिए बमोजिमको मोटाईको कार्य नगरी वास्तविक कार्य सम्पादन भन्दा बढीको नापी पेश गरी भुक्तानी लिई ५६ लाख ९० हजार ७४० रुपैयाँ हानी नोक्सानी गरी भष्टाचार गरेको भन्दै उनीहरुबाट सोही हानी बराबरको बिगो रकमसमेत भराउन मागदाबी लिइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar