धनकुटा – नेकपा एमालेका नेता गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ ।
शनिवार अपराह्न, एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य रहेका ७६ वर्षीय गुरागाईंमाथि धनकुटा नगरपालिका ६ स्थित आफ्नै निवासमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गुरागाईंको दायाँ आँखाको माथिल्लो भागमा गहिरो चोट लागेको छ । परिवारका सदस्यसँग गफगाफ गरिरहेको अवस्थामा एक्कासी खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको छ । गहिरो चोट लागेका कारण अत्यधिक रक्तश्राव भएको अस्पताल स्रोतले जनाएको छ । यद्धपी हाल उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
कसैको उक्साहटमा गुरागाईंमाथि आक्रमण गरिएको हुन सक्ने आशंका रहेको छोरा राजु गुरागाईंले बताए । आक्रमण गर्ने २३ वर्षीय दिनेश पोखरेल धनकुटा ६ बस्ने गुरागाईंका छिमेकी हुन् । आक्रमण गरी फरार रहेका पोखरेललाई उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनले गुरागाईंलाई हत्या गर्ने मनसायले खुकुरी प्रहार गरेको साबिती बयान दिएको प्रहरीले दाबी गरेको छ । आक्रमण गर्नुको कारण भने अझै खुल्न सकेको छैन । पोखरेललाई तत्काल पक्राउ गरिएको र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
गुरागाईंका परिवारले घटनाबारे गहिरो अनुसन्धान गरिनु पर्ने माग गरेको छ । नेता गुरागाईं वि. सं. २०४८ सालको संसदीय निर्वाचनमा सांसद बनेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar