काठमाण्डौ – राजधानीमा दैनिक तीनदेखि ४० वटा सवारी दुर्घटना हुन्छन् । अत्यधिक सवारी चापसँगै सडकमा भौतिक पूर्वाधारको अभावका कारण सर्वसाधरणले हैरानी खेप्दै आएका छन् । कलंकीदेखि त्रिपुरेश्वरसम्म सडकमका अधिकांश स्थानमा लेन र जेब्राक्रससमेत छैनन् । भएका सडक लेन पनि प्रस्ट देखिँदैन । ट्राफिकले कोनमा डोरी बाँधेर सडक लेन बनाउने गरेका छन् । अरू त अरू सिंहदरबार नजिकैका सडक रामशाहपथ, अनामनगर, माइतीघर र त्रिपुरेश्वर सडक खण्डमा पनि सडक लेन प्रष्ट देखिँदैनन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा दैनिक झन्डै १४ लाख सवारी सधान गुड्छन् । तर, सवारी साधन आवतजावतसँगै यात्रुलाई सडक वारपार गर्न जेब्राक्रस नहुँदा सास्ती बेहोर्नुपर्ने अवस्था छ । जडिबुटीदेखि कोटेश्वरहुँदै तीनकुने, नयाँबानेश्वर र माइतीघरसम्म आउँदा सडकमा एउटा मात्रै आकाशे पुल छ । बानेश्वरदेखि मध्यबानेश्वर हुँदै मैतिदेवी, गौशालासम्म पुग्दा पनि एउटा मात्रै आकाशे पुल छ । तर, ट्राफिक प्रहरी महाशाखाको बुझाइ भने केही फरक छ । महाशाखाका अनुसार, भएकै आकाशे पुल पनि सर्वसाधारणले प्रयोग गर्दैनन् । सर्वसाधारण भएका आकाशेपुलबाट बाटो नकाटी सडकबाटै बाटो काट्ने गरेका कारण बढी दुर्घटना निम्तने गरेको महाशाखाको ठहर छ ।
विशेषगरी कोटेश्वर, बानेश्वर, न्युरोड, पुतलीसडक, चाबहिल, कालीमाटी, सुन्धारा र रत्नपार्कका सडक अस्तव्यस्त देखिन्छ । फुटपाटमा व्यापार, सडकमै सवारी पार्किङ र पोलमा झुन्डिएका तारले सडकको अस्तव्यस्तता देखाउँछ । उपत्यकामा अहिले १ हजार २ सय जना ट्राफिक प्रहरीले काम गर्दै आएका छन् । तर, सवारी व्यवस्थापन भने उभिएर एउटा सिठ्ठीको भरमा गर्नुपर्ने बाध्यता ट्राफिक प्रहरीको छ । अत्यधिक सवारी चापका कारण सडकमा राखिएका ट्राफिक लााइटको खासै काम देखिँदैन ।
महाशाखाका अनुसार उपत्यकाका विभिन्न ३८ स्थानमा ट्राफिक लाइट छन् । यीसँगै २९ स्थानमा आकाशे पुल छन् । तर, पैदलयात्रीले भने सडकबाटै बाटो काट्ने प्रवृत्ति अझै रोकिएको छैन । अति व्यस्त चोक बानेश्वरबाट हनुमानस्थान जाने सडकमा राखिएको आकाशे पुल सधैँ खाली हुन्छ । पैदलयात्री भने आकाशे पुलको प्रयोग नगरी सडकबाटै बाटो काट्ने गर्छन् । केही दिन त ट्राफिक प्रहरीले पैदलयात्रीलाई सम्झाइबुझाइ ग¥यो । पैदलयात्रीले आकाशे पुल प्रयोग पनि गरे । अहिले फेरि उक्त समस्या ज्युँ का त्युँ छ ।
महाशाखाका अनुसार, ट्राफिक देखेमा आकाशे पुल प्रयोग गर्ने तर, नदेखे सडकबाटै बाटो काट्ने पैदलयात्रुको लापरबाही दिनप्रतिदिन बढ्दो छ । महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशी भन्छन्, ‘सडकको अवस्था, सवारी चाप र लापरबाही गर्ने चालक एवं पैदलयात्रीका कारण ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।’
सुवेदीले प्रविधिको विस्तारसँगै स्मार्ट सेवामार्फत ट्राफिक व्यवस्थापन गर्नुपर्ने समयमा अझै पनि एउटा सामान्य सिठ्ठी र उभिएकै भरमा काम गर्नुपर्दा समस्या आएको बताए । ट्राफिक व्यवस्थापन कार्यमा अत्याधुनिक प्रविधिको खाँचो रहेको उनी बताउँछन् । हुन त सिसिटिभीमार्फत पनि ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गर्दै नआएको होइन । तर, कारबाही र जरिवानाले मात्रै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज नहुने कुरा पनि स्वीकार्छन्, एसएसपी जोशी ।
‘हामीले चालकलाई कारबाही गरेर मात्रै हुँदैन । हाम्रा सडकमा कति पूर्वाधार छन्, त्यसले पनि प्रभाव पारिरहेको हुन्छ । सम्झाउने एउटा पाटो हुनसक्छ’, जोशीले भने, ‘सडकको भौतिक पूर्वाधार बनाउन सम्बन्धित निकायहरूले पनि उत्तिकै ध्यान दिने हो भने सवारी व्यवस्थापनमा चुनौती आउँदैन ।’ केही समय उपत्यकाभित्र बनेका करिडोर सडकले पनि सवारी व्यवस्थापन केही सहज बनेको थियो । तर, अहिले फेरि केही करिडोर सडकमा पूर्वाधारकै काम नसकिएकाले मुख्य सडकमा सवारी चाप बढेको देखिन्छ । बबरमहलस्थित आर्कब्रिज मुनिको करिडोर सडक लामो समयदेखि बन्द छ । उक्त करिडोर बन्द हुँदा सबै सवारीको चाप बिजुलीबजार पुल हुँदै हनुमानस्थान र बानेश्वरसम्म पर्ने गरेको देखिन्छ । बिजुलीबजारबाट करिडोर सडक हुँदै मैतीदेवी पुल निस्कने सडकको अवस्था पनि त्यस्तै छ । सडकको तहभन्दा उचाइमा पुल निर्माण गरेपछि उक्त पुल सञ्चालनमा आउन सकेको छैन ।
पार्किङ कहाँ गर्ने ?
सवारी व्यवस्थापनको मुख्य चुनौती भनेको सवारी साधन पार्किङ स्थानको अभाव पनि हो । विशेषगरी न्युरोड, पुतलीसडक, कालिमाटी, खिचापोखरी, कोटेश्वर, बानेश्वर लगायतका स्थानमा काडमाडौं महानगरपालिकाको स्वीकृतिमा सडकमै पार्किङको ठेक्का लगाएर आनन्दले सवारी पार्किङ हुँदै आएको छ । मुख्य सडकमा पैसा तिरेपछि निर्धक्क पार्किङ गर्न पाउँदा सवारीधनी खुसी देखिए पनि त्यसको मार भने अन्य गुडिरहेको सवारी साधनको व्यवस्थामा पर्न जाने बुझाइ महाशाखाको छ । ‘पार्किङको ठेक्का महानगरले लगाउँछ, त्यसको मार ट्राफिक प्रहरीले खेप्नुपर्छ’, महाशाखाका एक अधिकृत भन्छन्, ‘जाम भयो भने सबै दोष ट्राफिक प्रहरीमाथि आउँछ । तर, सडकमा हुँदै आएका अन्य गतिविधि नियन्त्रण गर्ने काम हाम्रो मात्रै हो र ?’
भित्रि सडक मात्रै होइन, रिङ रोड पनि उत्तिकै अस्तव्यस्त देखिन्छ । उपत्यका बाहिरका लामा दुरीका यात्रुवाहक सवारी साधन र मालबाहक सवारी साधन सडकमा जथाभावी रोकिएको देखिन्छ । यसअघि महाशाखाले गुरु योजना पनि गृहमा बुझाएको थियो । उपत्यकाका आउने लामा दुरीका सवारीलाई रिङ रोडभन्दा बाहिर थानकोट वा नागढुंगामै पार्किङ गर्नदिने योजनामा उल्लेख छ । तर, त्यो योजना अझै कार्यान्वयनमा आएको छैन ।
अवस्था भद्रगोल छ : आशिष गजुरेल (रोड ट्राफिक इन्जिनियर)
काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनको अवस्था भद्रगोल छ । सडक राम्रो बने पनि सडकमा हुनुपर्ने भौतिक पूर्वाधारको अवस्था राम्रो छैन । सार्वजनिक सवारी साधनको मनपरि छ । यात्रु राख्ने र ओराल्ने स्थानको अझै राम्रो व्यवस्थापन छैन । यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना आवश्यक छ । पहिला भएका भौतिक संरचनाको उच्चतम प्रयोग गर्ने, सार्वजनिक सवारी साधन विशेषगरी बस, माइक्रो र टेम्पो सञ्चालनको एउटा मापदण्ड बनाएर मात्र चलाउन दिनुपर्यो ।
मध्यकालीनमा सवारी रुटमा सडकको अवस्था हेरेर पुनरमूल्यांकन गर्नुपर्यो र सवारी साधन थप्ने नथप्ने यकिन हुनुप¥यो । दीर्घकालीन नीति भनेका मास ट्रान्सपोटेसनमा जानुप¥यो । सार्वजनिक सवारीमा राज्यले पनि लगानी गर्नुपर्यो ।
भारतमै हेरौँ भने पनि त्यहाँ कम्तिमा १० लाख जनसंख्या भएको स्थानमा मेट्रो रेल चाहिने नीति बनिसक्यो । काठमाडौंमा ४० लाखभन्दा बढी जनसंख्या छ तर, मेट्रो रेलको योजनासम्म छैन । महानगरपालिकाले अवधारणामा त राख्यो तर, कार्यान्वयन गति सुस्त छ । सरकारले सार्वजनिक यातायात प्राधिकरण वा कम्पनी बनाएर यातायात व्यवस्थापनमा सुधार ल्याउनु आवश्यक देखिन्छ । सर्वसाधारणमा पनि चेत देखिँदैन । ब्यस्त सडकबाटै बाटो काटने बानी नै परिसकेको छ ।
पैदलयात्रीलाई निश्चित स्थानबाट बाटो काट्ने नियम बनाउनुपर्छ । संसारभर ट्राफिक लाइटले काम गर्ने, हाम्रोमा नगर्ने भन्ने हुन्छ ? बानेश्वर चोककै कुरा गर्दा भक्तपुरबाट बिहान धेरै गाडी आउँछन् । ट्राफिक लाइटको पनि त्यहीअनुसार प्रयोग गर्नुपर्छ । समग्रमा सरकार संवेदनशील भइदियो भने ट्राफिक व्यवस्थापनमा कुनै समस्या आउँदैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar