इलाम – स्थानियमाथी कुटपिट गरेको आरोपमा इलामको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत चैत १८ गते पालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको कक्षमा सोही पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेको उजुरीका आधारमा उपाध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै खड्काले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेपछि उपाध्यक्ष राई आफैं प्रहरीमा आत्मसर्मपण गर्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान गरिनेछ । पालिकाका अध्यक्ष श्रेष्ठसँग आन्तरीक छलफल भइरहेको समयमा पालिकाकी उपाध्यक्ष राई एक्कासी प्रवेश गरी गाली गलौज गर्दै खड्कामाथि आक्रमण गरेको पीडितको उजुरीमा छ । घटनापछि तत्काल कानुनी कठघरामा ल्याई कारबाही गर्न र उचित न्याय दिनुपर्ने भन्दै खड्काले प्रहरीमा उजुरी दिएका थिए ।
गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा राईले खड्कामाथि कुटपिट गरेको स्थनीयहरू बताउँछन् । राईले भने चुनावको मुखमा अरूका कमजोरी आफूमाथि लाद्ने प्रयास गरिएको र अश्लील शब्दसमेत प्रयोग गरिएकाले आफूले प्रतिकार गरेको बताइन् ।
फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो । गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाहरूबाट आवेदन आह्वान गरेको थियो । कोरिया जान चाहने ४ सय ७७ युवाले गाउँपालिकामा आवेदन दिएका थिए ।
तिनीहरूमध्ये एक सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो । छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै असन्तुष्ट समूहले विरोध जनाउँदै आएको थिए । असन्तुष्ट समूहले पालिका कार्यालय तोडफोडसमेत गरेका थिए ।
गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष राई, वडाध्यक्षहरू र असन्तुष्ट युवाहरूबीच चैत १८ गते वार्ता भएको थियो । वार्तामा सहमति हुन नसकेपछि दुवै पक्ष अर्को चरणको वार्ता गर्नेगरी बाहिरिएका थिए । अर्को चरणको वार्ता सुरु हुनुअघि उपाध्यक्ष राईले खड्कालाई अनुहारमा मुक्का प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar