काठमाण्डौ – नेपालमा भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकालगायत मुलुकबाट सेनेटरी प्याड आयात हुन्छ । प्याड गोटा र किलोमा आयात हुन्छ भने ट्याम्पोन र मिन्स्ट्रुअल कप वटामा आयात हुन्छ । विभिन्न मुलुकबाट आयात हुने प्याड भन्सार कार्यालय हुँदै बजारमा प्रवेश गर्छन् ।
नेपाल भित्रिने पहिलो नाकामा नै प्याडको गुणस्तर हेरिनुपर्ने हो । तर भन्सार कार्यालयले गुणस्तर खुल्ने कागजपत्र माग्ने नियम नै छैन । ल्याबमा लगेर गुणस्तर परीक्षण गर्नु त टाढाको कुरा हो । अधिकांश आयातकर्तासँग प्याडको गुणस्तर खुल्ने वा प्रमाणित गर्ने कागजपत्र पनि हुँदैनन्, न त भन्सार कार्यालयले माग्ने प्रावधान नै छ । ‘परिमाण र कम्पनीको नामका आधारमा जाँचपास हुन्छ, कागजपत्रमा उच्च गुणस्तर भन्ने लेखेको हुन्छ, कुनैमा हुँदैन,’ एक भन्सार अधिकृतले भने, ‘हामीसँग प्याडको गुणस्तर परीक्षण गर्न ल्याबहरू छैनन्, खाद्यान्न, कृषि र जिउँदो पशुपक्षीको मात्र परीक्षण हुन्छ ।’
आयातित प्याडको गुणस्तर परीक्षण नहुँदा महिलाको स्वास्थ्य जोखिममा छ । गुणस्तरहीन प्याड परेको अवस्थामा महिनावारीको बेलामा बग्ने रगत योनिवरिपरि लाग्ने र संक्रमण हुने प्रसूतिगृहका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले बताए । ‘गुणस्तरहीन प्याडको प्रयोगले चिलाउने र सेतो पानी बग्ने समस्या हुन्छ, दीर्घकालसम्म संक्रमण रहिरह्यो भने पाठेघरको मुखमा घाउ हुन सक्छ,’ उनले भने ।
महिनावारीका बेला ५ देखि ६ घण्टासम्म बग्ने रगतलाई सोस्ने क्षमता प्याडको हुनुपर्छ । तर रगत नसोसेर लुगामा लाग्ने, योनिमा लाग्ने भयो भने प्याड गुणस्तरीय छैन भनेर बुझ्नुपर्ने उनले बताए । ‘महिनावारीको समयमा ३/४ दिन रगत बग्छ र चोक्टाहरू जाँदैन भने त्यो सामान्य महिनावारी हो,’ उनले भने, ‘रगतको धेरै चोक्टा जान्छ भने त्यो सामान्यभन्दा फरक हो ।’ सेनिटरी प्याडबाहेक कप पनि भएकाले त्यो प्रयोग गर्दा पनि हुने उनले बताए ।
स्वदेशमै उत्पादित प्याडले बजार नपाउँदा उत्पादन क्षमता घटाउनुपरेको उद्योगीहरू बताउँछन् । स्वदेशी उद्योगले बजार नपाएको गुनासो गरिरहँदा बाह्य मुलुकबाट वार्षिक १ अर्बभन्दा बढीको प्याड आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ । महिलासँग स्वास्थ्यसँग जोडिएको अत्यावश्यक सामग्री ‘सेनेटरी प्याड’ गुणस्तर परीक्षणबिनै नेपाल भित्रिने क्रम जारी छ । आर्थिक वर्ष ०७६/०७७ देखि नेपालमा प्याडसँगै ट्याम्पोन, मिन्स्ट्रुअल कप पनि भित्रिन थालेका हुन् । प्याडको विकल्पमा ट्याम्पोन र मिन्स्ट्रुअल कपको पनि प्रयोग बढेको छ ।
विभागको काम परिमाणको आधारमा महसुल उठाउने र छाड्ने काम मात्र रहेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए । ‘स्वास्थ्यको सामग्री भएकाले स्वास्थ्य मन्त्रालयले जाँच, परीक्षण गर्नुपर्यो,’ उनले भने । उच्च गुणस्तर भनेकै आधारमा स्वदेशमा ‘सेनेटरी प्याड’ भित्रिन्छन् । यसरी नै चालु आर्थिक वर्षको माघ मसान्तसम्म ७९ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको ९ करोड ४८ लाख ३५ हजार ४ सय ९५ पिस सेनेटरी प्याड आयात भएको छ । ट्याम्पोन र कप १६ लाख ७५ हजार रुपैयाँ बराबरको २४ हजार १ सय १३ वटा ल्याइएको छ । यसबापत सरकारले २२ करोड ५२ लाख ३४ हजार राजस्व उठाएको छ । आर्थिक ऐन २०७७ अनुसार सेनेटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महसुल लाग्छ । आर्थिक ऐन २०७७ मै भएको भन्सार महसुलसम्बन्धी व्यवस्थालाई २०७८ को आर्थिक अध्यादेशमा निरन्तरता दिइएको थियो । आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा पनि त्यही उल्लेख छ ।
आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ५ करोड ४७ लाख १८ हजार रुपैयाँ बराबरको १७ लाख ३८ हजार ८ सय ५० किलो प्याड आयात भएको थियो । यही आर्थिक वर्ष गोटामा पनि प्याड आयात भएको थियो । १२ करोड २३ लाख ६५ हजार रुपैयाँ बराबरको ३ करोड ५७ लाख १३ हजार ४ सय ९० पिस प्याड आयात भएको थियो । ट्याम्पुन र कप ३ लाख ३६ हजार रुपैयाँको ८ सय ५८ पिस आयात गरेको थियो । त्यसबापत सरकारले ३४ करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व उठाएको छ ।
सरकारले २०७६ मा सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि नै लागू गरेको छ । कार्यविधिमा ठूला उद्योग र आयातित प्याडको मापदण्ड र स्थानीयस्तरमा उत्पादित सेनेटरी प्याडको न्यूनतम मापदण्ड छुट्टाछुट्टै लेखिएको छ । नेपालको गुणस्तर नं ५८७ मा प्याडका हुनुपर्ने लम्बाइ–चौडाइ, सोस्ने क्षमता, पीएच भ्यालु, सूक्ष्मजीवी कीटाणुहरूको उपस्थिति आदिबारे विस्तृत आवश्यक मापदण्ड उल्लेख छ । स्थानीयस्तरमा उत्पादित सेनेटरी प्याडमा सेतो रङको सुती वा मलमलको कपडा प्रयोग गर्नॅपर्ने, कपडाको लम्बाइ कम्तीमा दुई हात र चौडाइ आधा हात हुनुपर्छ । प्याडको गुणस्तर सुनिश्चितताका लागि ९५ प्रतिशत सूति कपडा प्रयोग गर्नॅपर्छ ।
सेनेटरी प्याडको मापदण्ड नै गलत रहेको हेल्थ एन्ड हाइजिन नेपालका प्रमुख कार्यकारी अधिकृत राकेश लाहोतीले बताए । ‘प्याडको गुणस्तर मोटाइमा भर पर्दैन, प्याडको गुणस्तर त्यसमा प्रयोग गरिने कच्चा पदार्थमा भर पर्छ,’ उनले भने, ‘प्रयोगकर्तालाई प्याड प्रयोग गर्दा सहज गराउन र खटिराबाट बचाउन राम्रो गुणस्तरीय प्याड बनाउनुपर्छ ।’ तर नेपालमा बनेको सेनेटरी प्याडको मापदण्डमा १३ एमएम देखि १७ एमएमसम्मको मोटाइ हुनुपर्ने उल्लेख छ । जुन गलत रहेको उनले दाबी गरे । ‘विद्यालयमा निःशुल्क प्याड वितरण गर्न मापदण्ड बनाइए पनि स्कुलका बच्चाहरूले यो मोटाइको प्याड लगाउँदा कति गाह्रो हुन्छ भन्ने कुरा बुझेनन्,’ उनले भने ।
हेल्थ एन्ड हाइजिन नेपालले ‘प्याडिलक्स’ ब्रान्डको सेनटरी प्याड ३ वर्षदेखि उत्पादन गरिरहेको छ । दैनिक ८ लाख पिस प्याड उत्पादन गर्न सक्ने क्षमता भए पनि बजार अभावका कारण महिनामा १२ दिनमात्र उद्योगबाट प्याड उत्पादन भइरहेको लाहोतीले बताए । ‘नेपाली बजार सानो छ, विदेशी प्याडसँग प्रतिस्पर्धा गर्नॅपर्छ,’ उनले भने, ‘सेनेटरी प्याड प्रयोग गर्ने उपभोक्ताले स्वदेशी उत्पादनलाई पत्याउँदैनन् ।’ प्याडको कच्चा पदार्थ अमेरिका, सिंगापुर, कोरिया, चीन र भारतबाट आयात गरिन्छ भने नेपालकै टिस्यु पेपर पनि प्याड बनाउन प्रयोग गरिन्छ । ‘उद्योगमा १ अर्ब लगानी गरिसकेका छौं,’ उनले भने, ‘बजारमा पाइने सबै प्रकारका ब्रान्डका प्याडमा प्रयोग गरिएका कच्चा पदार्थ हेरी अध्ययन/अनुसन्धान गरेर कम्पनी खोलेका हौं ।’
अहिले नेपालमा प्याड उत्पादन गर्ने ४ ठूला उद्योग छन् । साना उद्योगको संख्या पनि ३० भन्दा बढी छ । विदेशबाट आयात हुने सेनेटरी प्याडलाई कडाइ नगरेसम्म नेपाली उत्पादनले बजार नपाउने उनले बताए । ‘सेनेटरी प्याड र बच्चाको डाइपरमा नेपाल आत्मनिर्भर भइसकेको छ, आयात गर्न जरुरी छैन,’ उनले भने । अहिले प्याडिलक्सले अल्ट्रा, कम्फर्ट र रेगुलरमा प्याड उत्पादन गर्छ । लम्बाइ २४० मिमि भएको प्याडले ९० एमएल, २८० मिमिले १२० एमएल, ३२० मिमिले १५९ एमएल रगत सोस्ने क्षमता भएको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar