तेह्रथुम – आठराई गाउँपालिका – ४ ईवाको वडा कार्यालयमा करार सेवामाख कार्यरत एक कर्मचारीले सेवाग्राहीबाट उठाएको रकममा अनियमितता गरेको खुलेको छ ।
पशु प्राविधिक शिशिर खनालले सेवाग्राहीबाट लिएको सेवाशुल्क तथा सिफारिस दस्तुर असुलीमा फरक अंक कायम गरी आर्थिक अनियमितता गरेको खुलेको हो । एक गाउँ एक प्राविधिक अन्तर्गत गाउँपालिकाले नियुक्त गरेका खनाललाई कार्यालयले वडा सचिवले गर्ने कामको समेत जिम्मेवारी दिएर काममा खटाएको थियो ।
पशु प्राविधिक खनालले आफूले पाएको जिम्मेवारीको दुरुपयोग गरी नागरिकबाट विभिन्न शिर्षकमा उठाईएको सेवा शुल्कमा फरक अंक लेखी अनियमितता गरेको वडा अध्यक्ष श्याम भट्टराईले बताए । खनालले सेवाग्राही सँग गाउँपालिकाले तोके बमोजिम नै सेवा शुल्क लिएर सिफारिस लगायतका कागजात दिने तर रसिदको अर्थकट्टीमा भने थोरै रकमको अंक लेखेर ठगी गर्दै आएको वडाध्यक्ष भट्टराईले वताए ।
खनालले पछिल्लो पटक एक सेवाग्राहीलाई जन्मदर्ता प्रतिलिपि दिए वापत ५ सय रुपैंया सेवा शुल्क भएको रसिद थमाएका थिए । तर कार्यालयमा रहने सोही नम्बरको रसिदको अर्थकट्टीमा भने १ सय रुपैंया मात्र लेखेर बाँकी रहेको ४ सय रुपैंया आफ्नै खल्तीमा हालेको प्रमाण बाहिरिएको छ । खनालले काटेको १३६१ नम्बरको रसिदको पहिलो पानामा५ सय र त्यसको अर्धकट्टीमा १ सय रुपैंया मात्र उल्लेख छ ।
कार्यालयमै बसेर कर्मचारी खनालले गरेको अनियमितता बाहिरिएपछि एक हप्ताका लागि निलम्बनमा राखि छानबिन थालिएको वडाध्यक्ष भट्टराईले बताए । छानबिनका क्रममा खनालले काटेका दर्जनौं नगदी रसिदमा बदमासी गरेको भेटिएको वडा कार्यालयले जनाएको छ । खनालले अर्धकट्टी नगदी रसिदमा शिर्षक समेत परिवर्तन गरी न्यून रकमको अंक लेखेर ठगेको बाहिरिएको छ ।
खनाल विगत दुई वर्षदेखि वडामा पशु प्राविधिकको रुपमा कार्यरत भए पनि गाउँपालिकाको आदेशमा उनले कार्यालयको अन्य कामकाज पनि हेर्दै आएको खुलेको छ । जिम्मेवारी विपरित गलत काम गर्ने कर्मचारीलाई छानबिनपछि दोषि ठहरिए कारवाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बेले वताए । घटना छानबिनका लागि गाउँपालिकाले शिक्षा अधिकृत हरिप्रसाद सोती को संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ । समिति सदस्यमा गाउँपालिकाका लेखा शाखा प्रमुख र सहायक लेखापाल सदस्य छन् ।
यसैबीच गाउँपालिका स्तरमा रहेका पाँच राजनीतिक दलले संयुक्त प्रेस विज्ञप्ति निकालेर कर्मचारी बाट भएको आर्थिक अनियमितताबारे छानबिन गरी दोषिलाई कारबाही गर्न माग गरेका छन् । कान्तिपुर दैनिकबाट ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar