प्रशासनमा पनि उजुरी
निर्माण व्यवसायी अनुप पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रशासनका कार्यालयमा पनि १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका छन् । ४ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध उजुरी परेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । पाण्डेविरुद्ध सोनापुर सिमेन्ट उद्योग, व्यवसायी र मजदुरसमेतले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
उनका अनुसार प्रशासनमा आएको उजुरी निवेदन चार लेन सडक आयोजना लमहीमा पठाइएको बताए । ‘यो विषय आयोजनासँग सम्बन्धित भएकाले छलफलबाटै विवाद टुंग्याउन आयोजनामै पठाएका छौं,’ उनले भने ।
घोराही–तुलसीपुर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । तर समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो ।