विराटनगर – सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका कार्यालय प्रमुख मिलन आचार्यले प्रक्रिया मिचेर आफू निकटका निर्माण व्यवसायीलाई करोडौंको ठेक्का दिएका छन् ।
सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले बिना टेन्डर भवन मर्मत थालेको छ। कार्यालय प्रमुख आचार्यले प्रदेश १ मा थपिएका मन्त्रालय राख्न प्रक्रिया मिचेर विराट साइन्स क्याम्पस भवन मर्मत गर्न लगाएका हुन्। आचार्यले आफू निकट निर्माण व्यवसायीलाई १ करोड ६४ लाख बराबरको काम दिएका छन्। विराटनगर – १४ जतुवास्थित उक्त भवन अवध निर्माण सेवा र प्रियंका कन्सट्रक्सनलाई मर्मतको जिम्मा दिएको हो। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको निर्देशनमा मर्मत सुरु गरिएको आचार्यले बताए।
१५ दिनमा सक्न मन्त्री आङ्बोले निर्देशन दिएपछि काम सुरु गरेको उनको भनाइ छ। ‘समय कम भएकाले मन्त्रीज्यूको निर्देशनमा तत्काल काम सुरु गरेँ’, उनले भने, ‘राम्रो मनसायले काम सुरु गरेका हौं। टेन्डरलगायत प्रक्रिया पछि मिलाउने कुरा भएको छ।’ यसको चौतर्फी विरोध भएपछि शुक्रबारदेखि काम बन्द भएको छ। बाउन्ड्री वालका लागि २७ लाख ७२ हजार, पार्टिसनका लागि १८ लाख ५० हजार, रंगरोगनका लागि २७ लाख, वाइरिङका लागि १२ लाख ७८ हजार, विद्युत्का लागि ३५ लाख ७० हजार, मर्मतका लागि ८ लाख ९१ हजार लाग्ने बताइएको छ।
प्रक्रिया मिचेर गराइएको काममा बजेट नदिने सहरी विकास तथा सडक पूर्वाधारमन्त्री हिमाल कार्कीले बताए । ‘मन्त्रालयमा बजेट पनि छैन। औपचारिक जानकारीसमेत छैन,’ उनले भने, ‘काम गराउनेलाई सोध्नुस्।’ प्रदेश सरकारले सात मन्त्रालय फुटाएर १३ वटा बनाएपछि ठाउ“ अभाव भएको छ। ‘हाम्रो धेरै खर्च भइसकेको छ,’ निर्माण व्यवसायी कन्हैया झाले भने, ‘विवाद उत्पन्न भएपछि काम बन्द गरेका छौं।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar