काठमाण्डौ – सत्तारुढ नेकपा एकीकृत समाजवादीले शनिवारको स्थायी कमिटी बैठकको निर्णयबारे नेताहरुको फरक फरक धारणा आएपछि आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न दिने पार्टीको निर्णयबारे नेताहरुको फरक फरक धारणा आएपछि पार्टी महासचिव वेदुराम भुसालले वक्तव्य नै निकालेर स्पष्टीकरण दिएका हुन्। स्थायी कमिटी बैठकले एमसीसी टेबल गर्न दिने नदिने कुनै निर्णय नभएको भन्दै सम्मानित नेता झलनाथ खनालले बताएका थिए। खनाल एमसीसी अस्वीकार गर्ने पक्षमा छन्। समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले निकालेको विज्ञप्तिमा भने संसद खुलेको अवस्थामा एमसीसी टेबल गर्न दिने भनिएको छ।
‘नेपाली जनताको भावना,राष्ट्रिय हित र वैचारिक प्रतिबद्धताको आधारमा एमसीसी र समसामयिक विषयमा आवश्यक निर्णय गर्न सचिवालयलाई अधिकार दिइएको छु, खतिवडाले पठाएको विज्ञप्तिमा भनिएको छ, ‘संसदको अवरोध हटेर दलहरुबीच सहमति भएमा सार्वभौम संसदमा टेबल गर्न सकिने कुरालाई सैद्धान्तिक रुपमा स्वीकार गरेको छ। तर संशोधन नभएको एमसीसी कम्प्याक्ट टेबल हुने कुरा औचित्यपूर्ण नहुने र जर्बजस्ती गरेर टेबल गर्ने कुराको पक्षमा समाजवादी छैन।’
खतिवडाको विज्ञप्ति र नेताहरुको भनाइले कुरा बाझिएको भन्दै त्यसपछि महासचिव भुसालले फेरि अलग्गै विज्ञप्ति निकालेका छन्। जसमा एमसीसीबारे पार्टी संसदमा छलफल गर्न तयार हुने निर्णय भएको जनाइएको छ। खतिवडाले एमालेद्वारा अवरोध गरिरहेको संसद खुलेपछि मात्रै भन्ने वाक्यांश राखिएकामा भुसालले भने संसदमा छलफल गर्न पार्टी तयार रहेको उल्लेख गरेका छन्।
समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पनि बैठकपछि संसदमा टेबल गर्ने कुरामा आपत्ति नरहेको बताउँदै जस्ताको तस्तै पास गर्ने कुरामा पार्टी तयार नरहेको उल्लेख गरेका थिए। बैठकपछि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पनि पार्टी एमसीसी अघि बढाउने कुरामा सकारात्मक रहेको बताएकी थिइन्। उनले एमसीसीका कारण गठबन्धन टुट्न नहुने पनि बताइन्।
उता सम्मानित नेता खनालले आफ्नै नेतृत्वमा बनाइएको कार्यदलको प्रतिवेदन पेश गरेर यथाअवस्थामा एमसीसी अघि बढ्नै नसक्ने तर्क गरेका थिए। एमसीसीबारे पार्टीभित्रका नेताहरुबीच नै दश थरी भनाइ आएपछि भुसालले विज्ञप्ति निकालेर अघि बढाउन तयार रहेको उल्लेख गरेका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar