काठमाण्डौ – अमेरिकाले एमसिसि अनुमोदन गर्ने बा नगर्ने भन्ने निर्णय नेपालको विषय रहेको बताएको छ ।
शुक्रबार छिमेकी मुलुक चीनले, अमेरिकाले नेपालमा ‘मिचाहा कूटनीति’ प्रयोग गरेको र त्यसको आफूले प्रतिवाद गर्ने चेतावनी दिएको भोलिपल्टै अमेरिकाले एमसिसि अनुमोदनको निर्णय नेपालको विषय रहेको बताएको हो । शनिबार बेलुकी काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको विषयमा अनुमोदन गर्ने वा नगर्ने निर्णय नेपाली नेताहरुले गर्ने जनाएको हो ।
त्यस्तै अमेरिकाले एमसीसीसँगको ५०० मिलियन अमेरिकी डलर अनुदान सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने केबल नेपालको सार्वभौम निर्णय रहेको पनी स्पष्ट पारेको छ । ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो । एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो,’ विज्ञप्तिमा भनिएको छ ।
वेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अमेरिकाले नेपालमाथि बलजफ्ती कूटनीति गर्न खोजेको टिप्पणी गरेका थिए । वाङले ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा मिचाहा कूटनीति सुरु गरेको छ। चीनले यसको प्रतिवाद गर्नेछ’ भनेका थिए ।
‘यो वर्ष नेपाल र अमेरिका बीचको सम्बन्धको ७५औं वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन्,’ विज्ञप्तिमा भनिएको छ,‘यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौं र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौं ।’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै विज्ञप्तिमा एमसीसी अनुदान अमेरिकी जनताका तर्फबाट उपहार भएको उल्लेख गर्दै यसले दुई मुलुकबीच एउटा साझेदारी रहेको प्रस्ट पारेको छ । एमसीसीले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । ‘यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शीरूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar