तनहुँ – तनहुँको शुक्लागण्डकीमा लोपोन्मुख सानो खैरो गिद्ध ओथारो बसिरहेको सिमलको रूख ढालिएको घटनामा छानबिन हुने भएको छ ।
शुक्रबार, जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकबाट सिमलको रूख ढालिएको घटनामा छानबिन गर्ने निर्णय गरेको हो । उक्त घटनाका सम्बन्धमा स्थलगत अध्ययन र छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिने उपायको पहिचान गर्न डिभिजनल वन कार्यालय तनहुँलाई जिम्मा समेत दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा भएको बैठकमा संरक्षणकर्मी, जिल्ला प्रहरी प्रमुख, ठेकेदार कम्पनीका प्रतिनिधि, डिभिजन वन कार्यालयका प्रमुखलगायतको उपस्थिति थियो । बैठकमा प्रजिअ अर्यालले उक्त गिद्धको गुँडको संरक्षणका लागि सरोकारवाला सरकारी निकायमा जानकारी गराउँदा गराउँदै रूख कटान भई अपूरणीय क्षति हुन गएकोमा दुःख व्यक्त गरे ।
शुक्लागण्डकी – २ गाँछेपानीमा अति संकटापन्न गिद्धको एउटा अन्डासहितको गुँड भएको सिमलको रूख सडक विस्तारका लागि माघ तेस्रो सातामा ढालिएको थियो । त्यसअघि पोखरा पन्छी समाजले पुस २० मा गिद्धले अन्डा कोरलेर बच्चा हुर्काउन्जेल दुई महिनाअघि रूख नकाटिदिन शुक्लागण्डकी नगरपालिका र डिभिजन सडक कार्यालय दमौलीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । सरकारी निकायबीचको समन्वय अभावमा ठेकेदार कम्पनीले रूख कटान गरेको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन – पोखरा जोड्ने सडक चार लेनको बन्दै छ । राजमार्गको छेवैमा रहेको सिमलको रूख ढालिएको हो ।
संचारमाध्यमहरमा उक्त समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएर सरोकारवालाको बैठक डाकेको हो । हालै कटान भएको रूखनजिकै सिमलको अर्को ठूलो रूख छ । त्यस रूखमा उक्त गिद्धले गुँड लगाउने सम्भावना रहेको संरक्षणकर्मी हेमन्त ढकालले बताए । उक्त रूख नकाटी शुक्लागण्डकी नगरपालिका र डिभिजन वन कार्यालयले संरक्षण गर्ने बैठकले निर्णय गरेको छ । अग्ला सिमलको रूखको संरक्षणका लागि स्थानीय सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्ने व्यवस्था डिभिजनल वन कार्यालयले मिलाउने बैठकबाट निर्णय भएको छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको गिद्ध विज्ञ समूहका सदस्य ढकालका अनुसार नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबैभन्दा कम संख्यामा सानो खैरो गिद्ध पाइन्छ । यी गिद्धको संख्या देशभर ५० देखि ७५ को हाराहारीमा मात्रै छ । एकपल्टको प्रजनन अवधिमा यो गिद्धले अग्लो रूखमा गुँड बनाएर एउटा मात्रै अन्डा पार्छ । अरू बेला गुँड नबनाई सुरक्षित स्थानमा बस्छ । पछिल्लो समय देशभर ४ ठाउँमा यो गिद्धको गुँड अभिलेख गरिएको छ । तिनैमध्ये थियो शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा र कोत्रेको बीच गाँछेपानीमा राजमार्ग छेवैको सिमलको रूख । उक्त गिद्धले पोहोरै अन्डा पारेर एउटा बच्चा हुर्कायो । यस वर्ष त्यही रूखको अर्को हाँगामा गुँड बनाएको थियो ।
व्यास – १० सिसुवा भतेरीमा केही दिनअघि हाइटेन्सन लाइनमा गिद्ध करेन्ट लागेर मृत्यु भएको थियो । उक्त दुर्घटना हुनुको कारण पत्ता लगाई उपयुक्त व्यवस्थापनका लागि व्यास नगरपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । त्यहाँ रहेको गौ संरक्षण केन्द्रमा सिनो खाना आउने गिद्ध उक्त स्थानमा विस्तार गरिएको मिदिम हाइड्रोपावर कम्पनीको विद्युत् प्रसारण लाइनमा परी मरिरहेको स्थानीयवासीले बताएका थिए । स्थानीयका अनुसार उक्त क्षेत्रमा झन्डै एक सयको हाराहारीमा गिद्ध मरिसकेका छन् । कान्तिपुर दैनिकबाट ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar