काठमाण्डौ – सत्ता गठबन्धनसम्बद्ध दलहरुले ०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् । देउवाले शनिबार बिहानको बैठकमा त्यस्तो प्रस्ताव गरेका थिए । त्यसबारे पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको थियो ।
बैठकमा ०७९ सालको जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले इकान्तिपुरलाई जानकारी दिए । ‘जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको छ । अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्छ,’ नेता श्रेष्ठले भने, ‘त्यसका लागि संविधान र ऐनमा आवश्यक संशोधन गर्ने र निर्वाचनको तयारी अघि बढाउने सहमति भएको छ ।’
यसअघि गठबन्धनले असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने गरी छलफल चलाउँदै आएको थियो । तर, शनिबार बिहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल स्थानीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
निर्वाचन आयोगले यसअघि नै वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ । तर, आयोगको प्रस्तावविपरीत गठबन्धनले निर्वाचन सार्ने प्रपञ्च रचेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा जेठमै निर्वाचन गर्ने सहमति जुटाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बिहीबार देउवासँगको भेटमा लिखितरुपमै स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् । पार्टीभित्रैबाट र चौतर्फी दबाबमा परेका देउवाले शुक्रबारमात्रै पार्टीका पदाधिकारीहरुसँग छलफलपछि स्थानीय निर्वाचनलाई जेठभित्रै गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।
संविधानले स्थानीय तहका जनप्रतिनिधिको पदावधिको ५ वर्षको हुने व्यवस्था गरेको छ । तर, ऐनको व्यवस्थाबमोजिम आगामी जेठ ५ गते स्थानीय तह जनप्रतिनिधिविहीन हुनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar