धादिङ – धादिङको खनियावास गाउँपालिका वडा नं. ४ स्थित् किन्ताङफेदीमा अवैध रुपमा क्रसर उद्योग संचालन हुँदै आएको छ ।
स्थानिय बुद्धि तामाङले खनियावास कन्स्ट्रक्सन प्रा.ली. मार्फत् खानी तथा भूगर्भ विभाग लगायत कुनै पनि निकायमा दर्ता नै नगरि अवैध रुपमा क्रसर सञ्चालन गर्दै आएको स्थानियहरुले गुनासो गर्ने गरेका छन् । स्थानियहरुका अनुसार उक्त क्रसरका कारण आसपासका बस्तीसमेत जोखिममा परेको छ ।
क्रसरका कारण क्रसरको माथिल्लो भागमा रहेको खड्गरी, राउते र चिउरीबोटका बस्ती पहिरोको उच्च जाखिममा छ । यता क्रसरको तलतिर रहेको किन्ताङ फेदीको बस्तीलाई पनि असर गरेको छ । त्यस्तै उक्त क्रसर उद्योगले आँखु खोलामै स्क्याभेक्टर मेसिन र ब्रेकर लगाएर अवैध रुपमा नदिको समेत दोहन गर्दै आएको छ ।
क्रसर संचालनका लागी आँखु खोला दोहनले दामन पाख्रिन मार्ग सडकसमेत प्रभावित भएको छ । क्रसर सञ्चालकहरुले त्यहाँबाट ढुंगा, गिटी, बालुवा लैजानेलाई खनियाबास कन्स्ट्रक्सन प्रा.लीको बिल बिजक जारी गर्ने गरेको स्थानियहरु बताँउछन् ।
क्रसर उद्योग अवैधानिक : वडाध्यक्ष हरि सिंह गुरुङ
खनियाबास गाउँपालिका – ४ दार्खाका वडाध्यक्ष हरिसिंह गुरुङले पनि उक्त क्रसर अवैध रुपमा सञ्चालित भएको बताएका छन् ।
क्रसर संचालकले वडाबाट घरबाटो सिफारिस लैजाँदा बैधानिक तवरले कम्पनी संचालन गर्ने नदि र बस्तीलाई असर गर्नेगरी काम नगर्ने शर्त राखेपनी अहिले उनिहरुले शर्तबिपरितको कार्य गरिरहेको बताए । ‘खोला किनारबाट ५ सय मिटर पर क्रसर राख्ने भन्दै सिफारिस लिएर गएका उनिहरुले उल्टै खोलामै क्रसर राखेका छन् । त्यो पनि अवैध रुपमा छ ।’ वडाध्यक्ष गुरुङले भने ।
‘उनीहरु दर्ता प्रक्रियामा गएका त थिए । तर अहिले क्रसर दर्ता गर्नपनि पाँउदो रहेनछ । अहिले दर्ता नगरि चलाइरहेको छ । वडाबाट सिफारिस हामीले घरबाटो सिफारिस मात्रै बनाएको हो । क्रसर नै बनाउन हामीले दिएको त होइन,’ उनले भने । ‘उनीहरुले त्यो अवैध रुपमा चलाएको हो । मैले पनि पालिका र जिल्ला समन्वय समितिलाई पत्र लेख्दैछु ।’ उनले भने ।
उनका अनुसार यो क्रसर एक वर्षदेखि सञ्चालनमा छ । उनले यो क्रसर सञ्चालन नगर्न पटक पटक आग्रह गर्दा पनि क्रसर संचालकहरुले अटेर गर्ने गरेको वडाध्यक्ष गुरुङले बताए ।
उता खनियाबास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण नेपालीले पनि उक्त क्रसर अवैधानिक रुपमा संचालन भएको बताएका छन् । उनले यसअघी उक्त क्रसर त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको र १ बर्षअघी त्रिपुरासुन्दरीबाट सरेर खनियाबासमा आएको बताए । यद्धपी उक्त क्रसर कतै दर्ता र स्विकृत नभएको उनको भनाई छ ।
आफुले उक्त क्रसर अवैध रुपमा सञ्चालन भऐ थाहापाएपनि उक्त क्रसर र खानीमाथि कारबाही गर्ने अधिकार गाउँपालिकालाई नभएको उनले बताए । उनका अनुसार प्रहरी प्रशासनले नै यस्तो क्रसरमाथि कारबाही गर्नुपर्ने हो । यसअघि उक्त क्रसर त्रिपुरासुन्दरी गाउँपालिकाको लपाङ भन्ने स्थानमा संचालित थियो । स्थानियबासीले विरोध गरेपछि त्यहाँबाट खनियाबासतर्फ सारेको उनले बताए ।
क्रसर संघबाट अनुमति लिएको क्रसर संचालकको झुठो दावी
उक्त क्रसर उद्योगका मालिक बुद्धि तामाङले भने आफूले क्रसर संघबाट अनुमति लिएर क्रसर संचालन गर्दै आएको भन्दै झुठो दावी गर्दै आएका छन् । त्यस्तै उनले आफूले स्थानिय निकायबाट पनि स्विकृत लिएर क्रसर संचालन गरेको समेत बताँउदै आएका छन् ।
उता क्रसर भएको क्षेत्रका वडाध्यक्ष गुरुङले भने क्रसर संचालकले क्रसर संचालनका लागी स्विकृत लिएको नभई कन्ट्रक्सन कम्पनी संचालनका लागी सिफारिस मात्र लिएको बताएका छन् । त्यस्तै गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपालीले पनि उक्त खानीले स्विकृत नलिएको बताएका छन् । । तर, तामाङले भने गाउँपालिकाबाटै स्विकृत लिएको भन्दै झूटो दाबी गर्दै आएका छन् ।
क्रसर उद्योग संघले पनि यसरी अवैध रुपमा क्रसर उद्योग सञ्चालन गर्ने अनुमति दिन मिल्दैन । उता खानी तथा भूगर्भ विभागबाट वातावरणीय प्रभाव मुल्यांकन आईईई गरेर स्विकृत लिनुभएको छ भन्ने प्रश्नमा भने सवैै प्रक्रियामा रहेको बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar