केशव दुवाडीप्रकाशित मिति: २०७८ माघ ५, बुधबार (२ साल अघि)
१४८९ पाठक संख्या
तात्कालीन नेकपा एमालेका महासचिव स्वर्गीय मदनकुमार भण्डारीले प्रतिपादन गर्नु भएको जनताको बहुदलीय जनवाद (जबज)को कार्यक्रमलाई पछि एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा पास गरेको थियो। पार्टीले सरकार सञ्चालन गर्दा पनि सोही सिद्धान्तलाई आधार बनाउने मान्यताका साथ आफ्ना चुनावी घोषणापत्र पनि निर्माण गरिएको थियो।
२०७५ साल जेठ ३ गते तात्कालीन एमाले र एकीकृत माओवादीबीच पार्टी एकिकरण गर्दा एमालेको जबज र माओवादीको एक्काइसौँ शताब्दीको जनवादलाई एकताको महाधिवेशनले टुङ्ग्याउने सहमतिका साथ हाललाई जनताको जनवादलाई मार्ग निर्देशक सिद्धान्त मान्ने सहमति भयो। जनताको जनवाद भित्र जबजका १४ वटै विशेषता त सबै परेको छ र सङ्घीयताका कुरा पनि थपिएको थियो।
जबजका १४ वटा विशेषता निम्न रहेका छन् ।
१• संविधानको सर्वोच्चता : तर आज निवर्तमान प्रधानमन्त्री द्वारा संविधानको गम्भीर उल्लंघन गरी संसद विघटन गरेर जबजको पहिलो कुरा संविधानको सर्वोच्चताको धज्जी उडाएका छन्।
२• बहुलवादी खुला समाज : जबजको अर्को कुरा बहुलवादी खुला समाजलाई पनि बहुमतको निर्णय मान्दिन भन्ने र उनका अमर्यादित शब्द र शैलीले जिस्क्याइ रहेकोछ।
३• शक्ति पृथकीकरणको सिद्धान्त : जबजको तेश्रो तर एकदम महत्वपूर्ण कुरा “शक्ति पृथकीकरणको सिद्धान्त” लाई उनले पटक पटक संसद छलेर अध्यादेश ल्याउने, विना सूचना संसदको अधिवेशन सकिदिने, संसदीय समितिहरुको वैठकमा जाँदै नजाने, पार्टीको संसदीय दलको वैठक नराख्ने, न्यायालयलाई प्रभाव पार्ने खालका भाषण बाजी गर्ने गरेर लत्त्याइ दिएका छन्।
४• मानवअधिकारको रक्षा : जबजको चौथो कुरा मानवअधिकारको रक्षा भन्ने कुरालाई पनि निर्मला बलात्कारका दोषी पत्ता लगाई सजाँय गर्न नसक्नुले जिस्क्याइ रहेको छ ।
५• बहुदलीय प्रतिस्पर्धाको प्रणाली : बहुदलीय प्रतिस्पर्धाको प्रणाली भन्ने जबजको पाँचौ विशेषतालाई पनि उनको संसद विघटनको घटनाले कतै यो व्यवस्था नै गुम्ने त हैन? भन्ने गम्भीर प्रश्न उठाएको छ ।
६• आवधिक निर्वाचन : जबजको छैठौँ कुरा आवधिक निर्वाचन भन्ने कुरा पनि संविधानले तोकेको अवधि अगावै संसद विघटन गरेर देशलाई अन्योलमा धकल्दै कतै निर्वाचन नै पो नहुने होकि भन्ने अवस्था सिर्जना भएको छ ।
७• बहुमतको सरकार र अल्पमतको विपक्ष : बहुमतको सरकार र अल्पमतको विपक्ष भन्ने जबजको सातौ बूँदालाई पनि आफू अल्पमतमा पर्न सक्ने अवस्था आए पछि संसद नै भंग गरिदिएर त्यसको ठीक उल्टो काम गरेकाछन् ।
८• कानुनको शासन : कानूनको शासन भन्ने जबजको आठौ कुरालाई त प्रहरीको मोष्ट वान्टेट सूचिमा रहेका व्यक्तिहरु उनको निवासमा बिना रोक टोक पुग्नुले नै खिल्लि उँडाइरहेको छ ।
९• जनताको जनवादी व्यवस्थाको सुदृढीकरण : जनताको जनवादी व्यवस्थाको सुदृढीकरण भन्ने जबजको नवौँ कुरालाई त उनका अर्थमन्त्रीले ल्याएको नवउदारवादी बजेटले जनवादलाई जिस्क्याउँदै विचौलियाको घेरामा रम्ने चरम पूँजीवादी बाटोमा अघि बढेको देख्न सकिन्छ।
१०• विदेशी पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग : विदेशी पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग भन्ने जबजको दशौँ बूँदालाई रेल , पानीजहाज र चुला चौकामा ग्याँस पुर्याउने मीठा कुरा गरेर सपना देखाए तर सिन्को भाँचेनन्। एउटा रेल ल्याएर घुम्टो ओडाइ राखेका छन्। पानी जहाज भनेर स्टीमर चलाइदिएका थिए कसैले त्यै पनि अलपत्र। तर पानीजहाज र रेलवेको अफिसखोलेर भजन गाउनेहरुलाई जागिर दिएर भोजनको व्यवस्था गरिदिएका छन्।
११• क्षतिपूर्ति : क्षतिपूर्ति भन्ने जबजको एघारौँ कुराले प्रगतिशील भूमिसुधार, जग्गाको हदवन्दि अधिकरण गर्दा व्यक्तिलाई दिइने क्षतिपूर्ति जस्ता कुराहरु पर्दछन् यसलाई त झन् उनले संझेकै छैनन्।
१२• विदेश नीति : जबजको बारौँ कुरा विदेश नीति हो तर अहिले सम्म नेपालको सर्वस्वीकार्य खालको विदेश नीति बन्न सकेको छैन। एमसिसि जस्तो विवादास्पद र राष्ट्रिय हित विपरीत इण्डो प्यासिफिक नीति पास गर्न नदिएको झोकमा संसद नै विघटन गरिदिए।
१३• नेतृत्व र अधिनायकत्व : नेतृत्व र अधिनायकत्व भन्ने जबजको तेह्रौँ कुरा लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमा आधारित छ । जस अनुसार सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी, जनवाद र केन्द्रियता, आलोचना, आत्म आलोचना जस्ता कुराहरु पर्दछन् तर उनले नेतृत्वलाई मान्यता नदिई अधिनायकत्व लाद्न खोजे, आलोचना गर्ने तर आत्म आलोचना र कंजोरी नस्वीकार्ने कुराले त्यसलाई अर्थहीन बनाइदिए।
१४• जनताको बहुदलीय जनवाद : जनताको बहुदलीय जनवाद माथिका सबै बूँदाहरुको सार्थक प्रयोग र समयानुकूल परिमार्जन गर्दै अघि बढ्दा प्राप्त गर्न सकिन्छ भन्ने मदनको विश्वास थियो। तर आफूलाई उनको खाँटी उत्राधिकारी मान्ने निवर्तमान प्रधानमन्त्रीले संसद विघटन गरेर जबजको चीरहरण गरिदिए।