खोटाङ – उहिले–उहिले सृष्टिको उत्पत्ति भएको समयमा मानिसको उत्पत्तिनिम्ति माङले नेवाहाङ निनाम्मा र हितुहाङ निनाम्माको सृष्टि गरी उनीहरूबाट मानव सृष्टि गरे । उनीहरूको कोखबाट सुम्निमा चेली र पारुहाङ माइतीको जन्म भयो । यी दुवै बढेर बैंशालु भए । सृष्टिले निरन्तरता पाउनलाई स्त्री र पुरुषबीच समागम हुन अनिवार्य थियो । एक दिन सुम्निमाले पारुहाङसँग बिहे गर्न (यौनसम्पर्क राख्न) चाहिन् । आफ्नो चेलीसँग बिहे गर्न (यौनसम्पर्क राख्न) पारुहाङले अपराध ठाने र पारुहाङ सुम्निमाले नदेख्ने/नभेट्ने ठाउँ साल्पापोखरीतिर गए । अलप भए ।
सुम्निमाले जसरी पनि पारुहाङलाई पाउनु थियो । त्यसका लागि सुम्निमाले पारुहाङलाई खोज्नुपर्ने भयो । पारुहाङलाई खोज्न उडेर धेरै ठाउँ घुम्न सक्ने चराको कल्पना गरिन् । सबैभन्दा पहिले टाङ्टुम्मी (चाँदेचरा)लाई पारुहाङ खोज्न पठाइन् । टाङ्टुम्मीले संसार चहार्यो । तर, अन्त्यमा उसले पारुहाङलाई साल्पापोखरीमा लुकेर बसेको ठहर गर्यो । सिली नाच्दै यारी गर्दै (अदुवालाई छड्के काटेर जोखना हेर्नु) साल्पापोखरीलाई फन्को मार्यो तर पारुहाङ बाहिर निस्केनन् ।
टाङ्टुम्मीले पारुहाङलाई पत्ता त लगायो तर सँगै ल्याउन सकेन । त्यसपछि झेत्वा (धोबीचरा)लाई सुम्निमाले पारुहाङ खोज्न पठाइन् । झेत्वाचरा पनि सिली नाच्दै, मुन्दुम गाउँदै, यारी गर्दै पारुहाङको खोजीमा लाग्यो । पारुहाङको खोजीमा झेत्वा पनि संसार डुल्यो । उसले पनि पारुहाङ साल्पापोखरीभित्रै रहेको पत्ता लगायो । पोखरीभित्रबाट पारुहाङलाई बाहिर निकाल्न नसकेपछि ऊ फक्र्याे ।
सुम्निमाले पारुहाङको खोजीका लागि अब तुइरा (सुई… सुई… कराउने) चरालाई पठाइन् । तुइराले पनि चारै दिशा खोज्यो । पारुहाङ साल्पापोखरीमा रहेको पत्ता लगायो । तर, उसले पनि पारुहाङलाई पोखरीबाट बाहिर ल्याउन सकेन । त्यसपछि माक्वा (कल्चुँडो) चरा, चेन्चेक्वा (पदुवा) चरालाई सुम्निमाले पारुहाङलाई खोजिल्याउन पठाइन् । उनीहरूले पनि सिली नाच्दै, यारी गर्दै, मुन्दुम गाउँदै पारुहाङको खोजी गरे । उनीहरूभन्दा अघि खोज्न गएकाले झैं साल्पापोखरीमै पारुहाङ लुकेर बसेको थाहा पाए । तर, पानी बाहिर ल्याउन सकेनन् ।
यसरी अनेकौं प्रयास गर्दा पनि कसैले पारुहाङलाई ल्याउन नसकेपछि अब कसले ल्याउन सक्ला ? भनेर सुम्निमाले सोचविचार गरी पानीभित्र पस्न सक्ने बाजीकुहाङ (गँगटा)लाई अघि जाने चराहरूसाथ पारुहाङलाई लिन पठाइन् । टाङ्टुम्मी, तुइरा, माक्वा, चेन्चेक्वासाथ बाजीकुहाङ गएर साल्पावरिपरि सिली नाच्दै, मुन्दुम गाउँदै यारी गरे तर पनि पारुहाङ बाहिर ननिस्किएपछि बाजीकुहाङ आफैं पोखरीभित्र पसेर पारुहाङको जिउमा कुत्कुती लगाइदियो । बाजीकुहाङको कुत्कुतीले पारुहाङ व्युँझिए । पोखरीबाट बाहिर निस्के । आफू कसैले नदेख्ने गरी गुप्तवास बसेको बताउँदै पारुहाङले आफूलाई व्युँझाउनुका कारण चराहरू र बाजीकुहाङलाई सोधे । बाजीकुहाङको समूहले एकै स्वरमा भन्यो, ‘सुम्निमाले तपाईंको चाहना गरेको हुँदा हामी लिन आएका हौं ।’
सुम्निमाले आफूसँग बिहे गर्न यौन प्रस्ताव चाहेको कुरा पारुहाङलाई थाहा भएकै हो । चेली र माइतीबीच प्रत्यक्ष बिहे गर्न नहुने ठानी पारुहाङ साल्पापोखरीमा आई लुकेर बसेका थिए । यति हुँदाहुँदै पनि सुम्निमाको आशक्तिका अगाडि निरीह बनेर पारुहाङले आफ्नो वीर्य कर्कलाको पातमा पोको पारी बाजीकुहाङको साथमा सुम्निमालाई ओखती भनेर पठाइदिए । तर, उनी गएनन् । पारुहाङले पठाएको वीर्य सुम्निमाले ओखती ठानेर खाइन् । त्यसपछि सुम्निमा गर्भवती बनिन् । सुम्निमाको गर्भबाट जेठा चाप्चा (बाघ), माइला तुमुन (भालु) र कान्छा हाङ्छा (मान्छे)को जन्म भयो । त्यही हाङ्छाको सन्तान आजका किरातीहरू हुन् भनिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar