काठमाण्डौ – खोपका लागि आवश्यक सिरिन्ज उपलब्ध नभएपछि मंगलबारदेखि सुरु गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । उपत्यकाका तीनसहित आठ जिल्लामा ११ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिने सरकारको लक्ष्य थियो ।
कोभाक्स सुविधाअन्तर्गत प्राप्त ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोपसँगै सिरिन्ज आउनुपर्ने थियो । तर सिरिन्ज नआएपछि अभियान केही दिनका लागि पछि धकेलिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले प्राविधिक कारणले सिरिन्ज नआएको र आउनासाथ खोप अभियान सुरु हुने बताए । ‘फाइजर खोपसँगै आउनुपर्ने सिरिन्ज प्राविधिक कारणले आएन, अभियान एक–दुई दिनपछि सुरु गरिनेछ,’ उनले भने, ‘सिरिन्ज आउनासाथ आठै जिल्लामा खोप अभियान सञ्चालन हुन्छ ।’
स्वास्थ्य मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप अभियान सुरु गर्ने जनाएको थियो । फाइजरको पहिलो डोज पुस १३ देखि २२ सम्म र दोस्रो डोज माघ ४ देखि १३ गतेसम्म दिइने मिति तय भएको थियो ।
हालसम्म खरिद र अनुदान सहयोगअन्तर्गत ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप प्राप्त भएको छ । खोप अभियान सुरु भएको ३३५ औं दिन अर्थात् सोमबारसम्म २ करोड ३७ लाख ४० हजार २ सय ९६ डोज खोप लगाइएको छ । यस हिसाबले भण्डारणमा १ करोड ५४ लाख ६३ हजार ६ सय ३१ डोज खोप अझै बाँकी छन् ।
करिब १ करोड ७५ लाख डोज थप खोप २०२२ को मार्चभित्र आइसक्नेछ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार अक्सफोर्ड/अस्ट्राजेनेका–कोभिसिल्ड, सिनोफार्म, भेरोसेल, जान्सेन, फाइजर, मोडर्ना गरी ६ प्रकारका खोप विभिन्न प्रक्रियाबाट भित्रिएका छन् ।
नेपालमा २ करोड ५० लाख ५४ हजार १ सय ७ डोज खोप विश्व स्वास्थ्य संगठनअन्तर्गत ‘कोभाक्स’ कार्यक्रमबाट भित्रिएको छ । कुल खोपमध्ये ६३.९० प्रतिशत कोभाक्सअन्तर्गतको हो । कोभाक्सअन्तर्गतकै एक डोज लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीको जान्सेन खोप ३७ लाख ११ हजार ५ सय डोज खोप अमेरिका र जर्मनीले अनुदानमा दिएका हुन् । भारतले ११ लाख र चीनले ३८ लाख डोज सहयोगस्वरूप प्रदान गरिसकेका छन् ।
सबैभन्दा बढी खोप चीनबाट भित्रिएको छ । भित्रिएका खोपको ४७.३२ प्रतिशत हिस्सा चीनमा निर्मित भेरोसेल र सिनोफार्मको छ । चीनबाट हालसम्म १ करोड ८५ लाख १ हजार ४८७ डोज खोप भित्रिएको छ । त्यसमध्ये ३८ लाख डोज अनुदानमा प्राप्त भएको हो । नेपाललाई प्राप्त खोपमध्ये दोस्रो बढी ३१.९४ प्रतिशत ‘अक्सफोर्ड/अस्ट्राजेनेका–कोभिसिल्ड’ छ भने सबैभन्दा कम अर्थात् १.९५ प्रतिशत फाइजरको खोप छ ।
कुल खोपमध्ये ३०.७० प्रतिशत अर्थात् १ करोड २० लाख मात्रा खोप खरिदको रहेको छ । सहप्रवक्ता डा. अधिकारीका अनुसार भित्रिएको कुल खोपमध्ये २५.५० प्रतिशत अर्थात् १ करोड मात्रा चीनबाट र ५.१० प्रतिशत अर्थात् २० लाख मात्रा भारतबाट खरिद गरिएको हो ।
कुल जनसंख्याको ३३.५ प्रतिशत अर्थात् १ करोड १ लाख ६६ हजार ५ सय ४ जनाले पूर्ण र ४४.७ प्रतिशत अर्थात् १ करोड ३५ लाख ७३ हजार ७ सय ९२ जनाले एक डोज खोप लगाइसकेका छन् । गत वर्ष माघ १४ मा भारत सरकारबाट अनुदानमा उपलब्ध गराइएको कोभिसिल्ड खोप स्वास्थ्यकर्मीलगायत फ्रन्टलाइनरलाई लगाएर खोप अभियान सुरु गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar