काठमाण्डौ – नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन अन्तर्गत उद्घाटन सत्रको कार्यक्रम समापन भएको छ ।
कार्यक्रममा उपस्थित विभिन्न दलका नेताहरूले माओवादी महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । यसका साथै राष्ट्रिय मुद्दामा समेत नेताहरूले चर्चा गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्षले आपसी प्रशंसा गरेको कार्यक्रममा माओवादी नेता मातृका यादवले नेकपा एकता कायम गर्न नसकेकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश मात्र व्यक्त गरेनन्, पुस्तान्तरणप्रति व्यंग्यवाणसम्म प्रहार गरेका थिए । उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा आफूलाई नै चिरफार गरेको बताए । ‘हामीले गर्न खोजेको आत्मसमीक्षा नै हो । शान्तिप्रक्रियामा आएपछि कहाँ चुक्यौ भन्ने कुरामा आत्मसमीक्षा हुनेछ । यसमा सबैभन्दा बढी मैरै आत्मसमीक्षा छ । प्रतिवेदनमा पनि त्यो कुरा उल्लेख गरेको छु । मैले आफैँलाई चिरफार गरेको छु,’ प्रचण्डले भने ।
महाधिवेशनले सबैलाई उत्प्रेरणा दियोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ । प्रचण्डले एमालेसँग पार्टी एकता गरी नेकपा बनाएर आफूहरूले गल्ती नगरेको दाबी गरेका थिए । ‘पार्टी एकता गरेर हामीले गल्ती थिएनौँ । फेरि एकपटक आत्मसमीक्षा गरौँ । हामीले गल्ती गरेका थिएनौँ,’ उनले भने । सम्बोधनका क्रममा प्रचण्डले प्रधानमण्न्त्री शेरबहादुर देउवाको पनि प्रशंसा गरेका थिए । यसअघि शेरबहादुर देउवाले पनि प्रचण्डको प्रशंसा गरेका थिए । महाधिवेशनमा छलफल हुने विषयवस्तुबारे पनि उनले जानकारी गराएका थिए । समाजवाद र पुँजीवादबारे अन्तर्राष्ट्रिय अभ्यासका कुरा गर्ने उनको र नयाँ शिराबाट निष्कर्ष दिने कोसिस हुने उनको भनाइ छ ।
विकास र समाजवादलगायतका विषयमा नेपाल कहाँ छ भन्नेबारे पनि विस्तारमा छलफल हुने उनको भनाइ थियो । यस्तै विज्ञान÷प्रविधिको विकास, विश्वव्यापीकरणका साथै डिजिटलाइजेसनबारे समीक्षा गर्दै समाजवादसँगको सम्बन्धबारे चर्चा हुने उनको भनाइ थियो । पार्टीको राजनीतिक विकास र कार्यदिशा र समाजवादोन्मुख समृद्धिको चर्चा गर्दै सबैको हक अधिकार संरक्षण गर्ने कार्यनीति समेत गरेको उनको भनाइ थियो । यस्तै पर्यावरणीय विषयबारे पनि बहस हुने उनको भनाइ थियो ।
एमसीसीमा कहाँ छ राष्ट्रघात ? : देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘एमसीसी राष्ट्रघाती भनेको हुनाले मैले एउटा कुरा बोल्नै प¥यो । राष्ट्रघाती भन्या छ, भन्या छ । पढ्या छ कि छैन थाहा छैन, पहिला पढ्नुपरो,’ प्रधानमन्त्री देउवाले भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । नेपालको खिलाफमा किन जाउँला म ? किन राष्ट्रघाती काम र सन्धि गरुलाँ म ? तपाईंहरू सबै पढ्नुहोस् ।’
देउवाले एमसीसी नेपालको हितमा भएको उल्लेख गरे । ‘एमसीसीको अनुदान सित्तैमा आएको पैसा हो । सित्तैमा आएको पैसा चाहिन्न भन्या छ । एमसीसी नेपालको कानुन मान्छु भन्छ तैपनि मान्दैन । राम्रोसँग बुझ्नुपरो बुझ्नुपरो क्या मित्र । त्यसकारण यो विषयमा हामी छलफल गरेर अघि बढ्छौँ,’ प्रधानमन्त्री देउवाले भने । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बनेको पाँच दलको गठबन्धन कसैको विरुद्धमा नबनाइएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री देउवाले मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध आफूहरु एक भएको बताएका थिए । ‘अहिलेको गठबन्धन कसैको विरुद्धमा बनाइएको होइन । मन लाग्यो कि संसद् विघटन गरिहाल्ने कदम र प्रवृतिविरुद्ध हामी एक भएका हौं,’ उनले भने ।
प्रचण्डको अगुवाइमा नै संविधानसभामा गएको र मुलुक शान्ति प्रक्रियामा अघि बढेको समेत बताएका छन् । प्रधानमन्त्री देउवाले थपे, ‘मुलुकलाई शान्ति प्रक्रियामा लैजानुपर्छ । संविधानसभामा जानुपर्छ भनेर प्रचण्डजीले नै अगुवाइ गर्नुभएको हो ।’ प्रधानमन्त्री देउवाले अहिलेको संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि आफूहरु एक ठाउँमा उभिनेसमेत बताए । संविधान बनाउन प्रचण्डको भूमिका निकै महत्वपूर्ण भएको भन्दै प्रशंसासमेत गरे । प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्ने समेत बताए । भने, ‘म प्रधानमन्त्री हुँ, राष्ट्रहित विपरीत काम गर्छु र ? एमसीसीको विरोध गर्नेहरुले सम्झौता पढेका छन् कि छैनन् भन्ने शंका लागेको छ ।’ उनले माओवादीको महाधिवेशन सफलताको शुभकामना पनि दिए । उनले भने, ‘माओवादीको यो महाधिवेशन निकै महत्वपूर्ण छ । सहमति हुनु राम्रो कुरा हो । अर्काको पार्टीमा धेरै जान्ने हुने कुरा छैन ।’
एमालेलाई पछुतो !
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा महासचिव पोखरेलले एकता जोगिन नसकेको भन्दै पछुतो व्यक्त गरेका हुन् । ‘एमाले र माओवादी एकीकरण गर्ने सोच सही थियो, तर विभिन्न कारणले एकता जोगिएन । एकता जोगाउन नसकेकोमा पछुतो छ,’ उनले भने, ‘अहिले वामपन्थी आन्दोलन सही बाटोमा हिँडिरहेको छैन । अब नयाँ सोच, नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्छ ।’ अहिलेसम्म वामपन्थी दलहरू अधिकारका मामिलामा राम्रो गरेर अघि बढेको भए पनि त्यसपछि गर्नुपर्ने कार्यमा चुकेको उनको भनाइ थियो । अब नेताहरूको अन्तर कलहका आधारमा नीति बनाउन नहुने उनले बताए ।
प्रतिनिधि १७ सय पुगे, सोमबारदेखि बन्दसत्र
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रतिनिधिको संख्या १७ सय पुगेको छ । सुरुमा माओवादीले १५ सय ३१ प्रतिनिधि सहभागी हुने बताएको थियो । त्यसपछि १६ सय ३८ प्रतिनिधि पुगेको बताइएको थियो । तर राष्ट्रिय सम्मेलनलाई महाधिवेशन प्रतिनिधिमा परिणत गरेसँगै महाधिवेशन प्रतिनिधि संख्या पनि बढेका हुन् । महाधिवेशनमा प्रतिनिधि संख्या १७ सय पुगेको माओवादी केन्द्र केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बन्दसत्र प्रज्ञा प्रतिस्ठानकै भवनमा हुनेछ ।
महाधिवेशन प्रतिनिधि बढेपछि माओवादीलाई व्यवस्थापनमा पनि चुनौती भएको छ । प्रज्ञा भवनमा जारी उद्घाटनमा हलमा नअटेपछि प्रतिनिधिहरु परिसरदेखि सडकसम्म बसेका छन् । माओवादीले सोमबार बिहान ११ बजेदेखि बन्द सत्र थाल्ने भएको छ । ’भोलि ११ बजेदेखिबन्द सत्र सुरु हुन्छ,’ उनले भने, ’१७ सय प्रतिनिधि पुगेका छन् । सबै क्लस्टरबाट मिलाउदा संख्या केही बढेको हो ।’ सुरुमा राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले शनिबार बेलुका त्यसलाई महाधिवेशनमा परिणत गर्ने प्रस्ताव स्थायी समितिबाट निर्णय गरेर केन्द्रिय समितिमा पठाएको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिले उक्त निर्णय अनुमोदन गरेको थियो ।
प्रचण्डको कटआउट
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा शुरु भएको छ । महाधिवेशन स्थलबाहिर प्रज्ञा प्रतिष्ठान परिसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कटआउट राखिएको छ । जहाँ माओवादी नेता कार्यकर्ताले प्रचण्डको कटआउटसँगै उभिएर तस्वीर खिचाउने गर्छन् । यसअघि गत असोजमा नेकपा एमालेको विधान महाधिवेशनस्थल ललितपुरको गोदावरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कटआउट राखिएको विषयले चर्चा पाएको थियो । अहिले माओवादी केन्द्रको महाधिवेशनमा पनि प्रचण्डको कटआउट राखिएपछि कतिपयले कम्युनिस्ट पार्टी नीति केन्द्रित नभएर नेता केन्द्रित भएको टिप्पणी गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar