काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
आज सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच पार्टी नफुटाउने सङ्कल्प गर्दै थापाले उम्मेदवारी घोषणा गरेका हुन् । २०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएको थियो । एकीकरणपछि पहिलोपटक मङ्सिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ ।
कार्यक्रममा बोल्दै थापाले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने जिकिर गरे । उनले भने, ‘केवल नाम मात्रको होइन, मन वचन र कर्मले एकताको महाधिवेशन बनाउनुपर्छ । यो महाधिवेशनबाट एकता, सद्भाव र सहमतिको सन्देश दिनुपर्छ ।’ थापाले राप्रपाको इतिहासमा महाधिवेशनपछि पार्टी फुट्ने देखिएको हुँदा टुटफुटको शृङ्खला हुन नदिन र पार्टीलाई एकताबद्ध राख्न अपिलसमेत गरे । ‘महाधिवेशनबाट फर्केर घर जाँदा राप्रपालाई कहिले फुट्न नदिने सङ्कल्प गरौँ,’ उनले भने ।
थापाले आफ्नो ३० वर्षे राजनीतिक यात्रामा यसभन्दा अघि पार्टीभित्र कहिले पनि भोट नमागेको र उम्मेदवारी पनि नदिएको स्मरण गरे । उनले भने, ‘उम्मेदवारी नदिँदा पनि देशभरका साथीहरूबाट अत्यधिक बहुमत प्राप्त गरेँ । तर आज उम्मेदवारी घोषणा गर्ने र भोट पनि माग्नुपर्ने अवस्था आयो । यो परिस्थिति जन्य बाध्यता हो । मैले केही असहज महसुस पनि गरिरहेको छु ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar