चितवन – चितवनमा जारी नेकपा एमालेको दशौँ महाधिबेशनका क्रममा पदाधिबारी चयनको बिषयलाई लिएर ओली निकटका नेताहरुबीच भनाभन भएको छ ।
शुक्रबार साँझ महाधिबेशनको खुल्लासत्र समापनपछी बन्दशत्र स्थल सौराहामा बसेको पार्टीको अन्तिम बैठकअघी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफु निकटस्थहरुसंग बसेको अनौपचारिक बैठकमा ओली निकटका नेताहरुबीच पदाधिकारीको विषयलाई लिएर भनाभन भएको हो । बैठकले गोदावरीमा पारित गरेको बिधान नै शंशोधन गर्ने विषयमा चर्को कुरा उठेपछी बैठकअघी पदाधिकारी थप्ने निर्णय गराउनुअघि ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरूबीच अनौपचारिक बैठक गरेका हुन् । बैठकमा ओलीले नेताहरुलाई सर्वसम्मत रुपमा पदाधिकारी टुंग्याउन आग्रह गरेका थिए ।
तर, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ तथा महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले दाबी नछाड्ने बताए । सोहि विषयमा बिवाद बढ्दै गएपछी सर्वसम्मत पदाधिकारी टुंग्याउने विषय अन्यौलमा परेको हो । बैठकको सुरुमै ‘तपाईंहरूबीच सहमति भयो ?’ वरिष्ठ उपाध्यक्ष र महासचिवका दाबेदारहरूसँग ओलीले प्रश्न गरेका थिए । एमाले स्रोतका अनुसार सबै नेताले आ–आफ्नो दाबेदारी स्वाभाविक रहेको तर्क राखेका थिए । ‘गत महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकर पोखरेललाई यसपालि महासचिव बनाउँदा आन्तरिक लोकतन्त्रको विषयमा गलत सन्देश जान सक्छ भनेर पृथ्वीसुब्बा गुरुङलगायत नेताले ओलीलाई सतर्क बनाएका थिए । ’ स्रोतले भन्यो, ‘तर, जबजको व्याख्याताका रूपमा शंकर बराबरको नेता एमालेमा नभएको भन्ने अर्को पक्षको दाबी थियो ।’ शंकरलाई महासचिव चयन गर्नुपर्ने धारणा महासचिव ईश्वर पोखरेल र स्थायी समिति विष्णु रिमालले राखेका थिए । एता पौडेलका पक्षमा भने नेता सुवास नेम्वाङ र सचिव गुरुङ थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा पनि ईश्वर कि सुवास भन्ने विषय पनि त्यत्तिकै पेचिलो बनेको छ । दुई कार्यकाल महासचिव भएका ईश्वरले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनु अनौठो नभएको सहकर्र्मीहरूसँग बताउने गरेका छन् । त्यसो त घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ‘उता, सुवासजीले वरिष्ठ उपाध्यक्षमा मेरो दाबेदारी फिर्ता हुँदैन भन्नुभएको छ, त्यसैले घनश्यामले उपाध्यक्षमा उम्मेदवारी दिन थाल्नुभएको छ,’ अर्का नेताले भने ।
त्यस्तै शंकरलाई महासचिव बनाउनुपर्ने पक्षमा ओलीनिकट पूर्वविद्यार्थी र मदन भण्डारी फाउन्डेसनमा सक्रिय नेताहरू देखिएका छन् । पौडेलका पक्षमा पनी ओली समूहकै अर्को तप्का रहेको छ । १० बुँदे सहमति पक्षधर र पूर्वमाओवादी समूहको पनि उनलाई साथ छ । पूर्वमाओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा भने यस विषयमा मौन छन् । उनी एमालेमा रहेदेखि नै अध्यक्ष ओलीको संकेतअनुसार खुल्ने गरेका छन् ।
आठौं महाधिवेशनमा एमाले बहुपदीय प्रणालीमा गएपछि पौडेल र पोखरेल ओली समूहबाट सचिवमा विजयी भएका थिए । नवौं राष्ट्रिय महाधिवेशनमा पनी ओली समूहबाट दुवै नेताले उपमहासचिवमा प्रतिस्पर्धा गरेका थिए । इद्धपी प्रतिस्पर्धामा पौडेल मात्रै विजयी भए । दुई उपमहासचिवमध्ये एकमा अर्को प्यानलका भुसाल विजयी भएपछि पोखरेलनिकट नेताहरूले पौडेलले अन्तरघात गरेको आरोप लगाएका थिए ।
एता नेकपा हुँदै लुम्बिनीका उनीहरूबीच प्रदेशको राजधानीका विषयमा पनि विवाद देखिएको थियो । पोखरेलले लुम्बिनीको मुख्यमन्त्री भएका बेला पौडेलको गृहनगर बुटवलबाट राजधानी आफ्नो गृहजिल्ला दाङ र्पुयाएका थिए । त्यसको छाया उनीहरूमा अहिले पनि रहेको कतिपयको धारणा छ ।
एता नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्नेमा उपमहासचिव पौडेलको साथ देखिएको छ । नेम्वाङले आफूसँग भेट्न आउने नेताहरूलाई आफू अडान लिएपछि नछाड्ने नेता भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने र ओलीले आग्रह गरेपनी फिर्ता नलिने बताएका छन् । ‘सर्वसम्मतिका लागि प्रयास हुन्छ तर अहिलेसम्म आ – आफ्नो दाबी कायमै छ,’ शुक्रबार मध्यरातमा उनले भने ।
विधान महाधिवेशनमा पोखरेलनिकटका नेताहरूले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्नका लागि विभिन्न समूहमा लबिङ गरेका थिए । आगामी महाधिवेशनमा ७० वर्षको उमेर हदका कारण बिदा लिनुपर्ने बाध्यतामा रहेका दुवै नेताले वरिष्ठ उपाध्यक्ष भएर सम्मानजनक बहिर्गमन चाहेका छन् । दुई पटक महासचिव भइसकेका पोखरेललाई त्यही पदमा दोहोरिन विधानले दिँदैन ।
पदाधिकारीमा महिला नेताहरू अष्टलक्ष्मी शाक्य, बिन्दा पाण्डे, पद्मा अर्याल, शिवमाया तुम्बाहाङ्फेले पनि दाबी गरेका छन् । तर उनीहरूले सार्वजनिक रूपमा केही बताएका छैनन् । आज शनिबार बन्दसत्र सुरु हुनुअघि आफ्नो उम्मेदवारीबारे सार्वजनिक रूपमा घोषणा गर्ने उनीहरूको तयारी छ । सचिव योगेश भट्टराईले पनि उही पदमा दोहोरिन चाहेको बताएका छन् ।
एमाले महाधिबेशनमा केन्द्रीय कमिटीमा मात्र करिब पाँच सय नेताले आकांक्षा देखाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar