काठमाण्डौ – नेपालमा मिडियम रेन्जका (२० देखि ३० हजार रुपैयाँ) स्मार्टफोन सबैभन्दा लोकप्रिय बन्दै गएको छ।
कोरोना महामारी २०७६ चैत पछि नेपाली बजारमा मिडयम रेन्जका फोनहरुको व्यापार थामिनसक्नु भएको बिक्रेताहरुले बताएका छन्। कोभिड-१९ पछि अर्थात् सन् २०२० यता राम्रो डिभाइसको माग अझै बढ्दै गएको देखिन्छ। उपभोक्ताहरुले कोभिड महामारी यता अडियो/भिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षालगायतका गतिविधिका कारण राम्रो स्पेसिफिकेसन भएका स्मार्टफोन खोज्ने गरेको बिक्रेताहरु बताउँछन्। जसका लागि मिडियम रेन्ज पहिलो रोजाइ बन्ने गरेको उनीहरुको भनाइ छ।
मिडियम रेन्जका स्मार्टफोन माग अत्यधिक बढेपछि पछिल्लो समय नेपाली बजारमा नाम चलेका विभिन्न ब्राण्डका करिब २१ वटा स्मार्टफोन यो रेन्जका छन्। नेपाली बजारमा मिडियम रेन्जका स्मार्टफोनमा सामसङ, रियलमी, साओमी, पोको, भिभो, ओप्पो, वानप्लस बढी बिक्री हुने गरेको छ। मिडियम रेन्जका फोनहरुमा क्यामेरा, प्रोसेसरदेखि प्रिमियम लुक्स देखिने भएकाले पनि उपभोक्ताहरुको रोजाइमा परेको देखिन्छ। लो रेन्जका फोनबाट अपग्रेड गर्ने क्रम निकै बढेकाले पनि मिडियम रेन्जका स्मार्टफोन धेरैको आँखामा पर्ने बिक्रेताहरुले बताएका छन्।
मिडियम रेन्जका अधिकांश फोनहरुमा न्यूनतम ३ जीबी र्याम र ६४ जीबी स्टोरेज पाइन्छ। धेरैमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज पाइने कम्पनीहरुले जनाएका छन्। कोरोना महामारीपछि उपभोक्ताहरु २० हजार रुपैयाँ वा सोभन्दा कम मूल्यका स्मार्टफोनभन्दा मिडियम रेन्जका स्मार्टफोन खरिद गर्न थालेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले जानकारी दिए।
‘बेसिक फिचर फोन बोकिरहेका उपभोक्ताहरुले आफूलाई अपग्रेड गर्दै स्मार्टफोन, त्यो पनि लो रेन्जभन्दा माथिका अर्थात् मिडियम रेन्ज खरिद गरिरहेका छन्,’ मल्होत्राले भने, ‘नौ सय, एक हजार रुपैयाँमा पाइने बेसिक फोनहरुको आयात स्वाट्टै घटेर मिडियम र हाइ रेन्जका स्मार्टफोनहरुमा उपभोक्ताहरु झुम्मिनुको मुख्य कारक कोरोना महामारी हो।’ त्यसैगरी, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले पनस २० देखि ३० हजार रुपैयाँसम्मका स्मार्टफोन अहिले सबैभन्दा धेरै बिक्री हुने र माग अत्याधिक बढी भएको सेग्मेन्ट रहेको जानकारी दिए।
‘पछिल्लो समय २० देखि ३० हजार रुपैयाँ रेन्जका फोनहरुमा उपभोक्ताहरुले खोजेका सबै फिचर र आवश्यक प्रविधि पाइन्छन्,’ स्थापितले भने,’हामीले यही अवस्थालाई मध्यनजर गर्दै ‘एफ२२’ मोडल लन्च गरेका हौं। ६ हजार एमएएचको ब्याट्री, ४८ मेगापिक्सेल क्यामेरा, ९० हर्ज रिफ्रेस रेट भएको यो फोनको माग अहिले यति धेरै छ कि हामीलाई मागअनुसार प्रडक्ट बिक्री गर्नै गाह्रो परिरहेको छ।’
सामसङले नेपाली बजारमा २० देखि ३० हजार रुपैयाँ पर्ने चारवटा स्मार्टफोन बिक्री गरिरहेको छ।
सामसङले एफ २२ को मूल्य २० हजार चार सय ९९ र २३ हजार ९९९ रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ। चार जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्ट भएको एफ २२ को २० हजार चार सय ९९ रुपैयाँ र ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको २३ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
सामसङ ग्यालेक्सी ए२१ एसको २२ हजार चार सय ९९ रुपैयाँ पर्छ। सामसङ ग्यालेक्सी एम३२ को २४ हजार ९९९ देखि २७ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। एम३२ पनि दुईवटा भेरियन्ट चार जीबी र्याम र ६४ जीबी स्टोरेज तथा ६ जीबी र्याम र १२८ जीबी स्टोरेजमा पाइन्छ। २० देखि ३० हजार रुपैयाँ भित्र सबैभन्दा महँगो स्मार्टफोन सामसङ ग्यालेक्सी ए२२ हो। जसको मूल्य कम्पनीले २७ हजार ९९९ रुपैयाँ तोकेको छ।
त्यसैगरी, शंकर ग्रूप आधिकारिक वितरक रहेको रियलमीको एउटा मात्रै मोडल मिडियम रेन्जमा उपलब्ध छ। कम्पनीले २८ हजार ९९९ रुपैयाँमा रियलमी ८ बिक्री गरिरहेको जनाएको छ। यस्तै, अर्को कम्पनी वानप्लसको पनि एउटा मात्रै मोडल मिडियम रेन्जमा छ। वानप्लसले नर्ड एन १०० २२ हजार ९९९ रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ।
चिनियाँ ब्राण्ड साओमीका रेड्मी ब्राण्डका अधिकांश मोडल मिडियम रेन्जका छन्। रेड्मी नोट १० प्रोको २९ हजार ९९९ रुपैयाँ, रेड्मी नोट १०एसको २५ हजार ९९९ रुपैयाँ, रेड्मी १० प्राइमको २० हजार ९९९ रुपैयाँ र रेड्मी ९ पावरको २० हजार ९९९ रुपैयाँ र २१ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
रेड्मी ९ पावर तीनवटा भेरियन्टमा आउने भएपनि एउटा मोडल २० हजार रुपैयाँ मुनिको छ। २० हजार ९९९ रुपैयाँ पर्ने स्मार्टफोनमा चार जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको कम्पनीले जनाएको छ। २१ हजार ९९९ रुपैयाँ पर्ने सेटमा ६ जीबी र्याम र १२८ जीबी नै स्टोरेज छ। यस्तै, साओमीले नै उत्पादन गर्ने पोको ब्राण्डमा एउटा स्मार्टफोन यो रेन्जमा पाइन्छ। पोको एम३ प्रो फाइभजी कम्पनीले २३ हजार ९९९ रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ।
अर्को चिनियाँ ब्राण्ड भिभोका तीनवटा स्मार्टफोन २० देखि ३० हजार रुपैयाँमा पाइन्छ। भिभो वाइ २१ को २२ हजार ९९९ रुपैयाँ, वाइ२० एसको २५ हजार ४९९ रुपैयाँ र वाइ३० को २३ हजार ४९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। त्यसैगरी, अर्को चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा २० देखि ३० हजार रुपैयाँ पर्ने सातवटा स्मार्टफोन बिक्री गरिरहेको छ। कम्पनीले ए५२ को २९ हजार ९९० रुपेयाँ, ए५३ को २२ हजार ९० रुपैयाँ, ए५४ को २५ हजार ९९० रुपैयाँ र ए३१ को २६ हजार ५९० रुपैयाँ पर्ने जनाएको छ।
ए फाइभ २०२० भने दुईवटा भेरियन्टमा उपलब्ध छन्। तीन जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको २२ हजार ४९० रुपैयाँ र चार जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको २५ हजार ४९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। ओप्पको ए१५एस को २१ हजार ९९० रुपैयाँ र ए१२ को २० हजार ७९० रुपैयाँ पर्छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar