अन्तरिक्षमा पहिलो पटक फिल्म सुटिङ गरेर रुसी अन्तरिक्ष चालक दलका सदस्यहरु पृथ्वीमा फर्केका छन् ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १२ दिनसम्म चलचित्रको सुटिङ गरेपछि अभिनेत्री र निर्देशक सुरक्षित रूपमा हिजाे कजाकस्तानमा उत्रिएका हुन् । रूसी अभिनेत्री युलिया पेरेसिल्ड र निर्देशक क्लिम सिपेन्कोले पहिलो चलचित्रको लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १२ दिन बिताएका हुन् । युलिया पेरेसिल्ड र क्लिम सिपेन्को हिजाे बिहान कजाकस्तानको स्टेप्पेमा निर्धारित समयभित्रै सुरक्षित तवरले अवतरण गरेका हुन् । उक्त अवतरणको रूसी अन्तरिक्ष एजेन्सीले प्रत्यक्ष प्रसारण गरेको थियो ।
रूसीहरूले अन्तरिक्षमा पहिलो फिल्म सुटिङ गरेर अमेरिकी हलिउड,त्यसका कलाकार र अमेरिकाको महत्वाकांक्षालाई निकै पछाडि पारिदिएका छन् । रुसले अघि बढाएको उक्त परियोजना सोचेको गतिमा अघि बढेमा यसअघि हलिउडले घोषण गरेको यस्तै खालको परियोजना थप पछि पर्ने निश्चित रहेको बताइन्छ । हलिउड परियोजनामा प्रख्यात अभिनेता टम क्रुज र एलोन मस्क गत वर्ष नै जोडिएका हुन् ।
उक्त चलचित्रमा कलाकारहरु रहेको अन्तरिक्षयानको उडानदेखि अवतरणसम्मका सबै दृश्य समेटिने बताइएको छ । आज सफल भएको पछिल्लो मिसन रूसी अन्तरिक्ष उद्योगको लागि पहिलो हुने विभिन्न विधाका सूची अब थप लामो हुने छ । तत्कालीन सोभियत संघले पहिलो भूउपग्रह स्पुतनिक प्रक्षेपण गरेको थियो । त्यसैगरी त्यहीँबाट पहिलो जनावर पृथ्वीको कक्षमा पठाइएको हो । त्यो कुकुरको नाम लाइका थियो । त्यसैगरी अन्तरिक्षमा पुग्ने पहिलो मानिस पनि सोभियत संघकै युरी गागरिन र पहिलो महिला भ्यालेन्टिना तेरेस्कोभा बनेका छन् ।
सोभियत युगको तुलनामा आधुनिक रूसले अन्तरिक्ष प्रतिस्पर्धामा नयाँपन दर्ता गर्न संघर्ष गरिरहेको छ । विगतमा रुसले अमेरिकी प्रविधिसँग प्रतिस्पर्धा गर्नुपरेको थियो भने अहिले चीनको समेत अन्तरिक्षमा सशक्त उपस्थिति हुँदै आएकाले बेइजिङसङ्ग समेत प्रतिस्पर्धा गर्नपर्ने भएको छ ।
सोभियतकालको अन्तरिक्ष प्रतिस्पर्धालाई पच्छ्याउँदै आएको रुसले यो वर्ष पुनः अन्तरिक्षमा पर्यटक लैजाँदैछ । यो वर्ष उसले दुई जना जापानी अन्तरिक्ष पर्यटकलाई निकै ठूलो धनराशीमा अन्तरिक्षमा लान लागेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar