२४ भदौ,काठमाण्डौ – युवाकवि मोतीराम भट्टको १५६औँ जन्मजयन्तीको अवसर पारेर नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागले ‘प्रज्ञा गजल महोत्सव’ को आयोजना गरेको छ ।
भर्चुअल तथा भौतिक रुपबाट आयोजित महोत्सवमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ३० वर्षको छोटो उमेरमै नेपाली वाङ्मयमा मोतीरामले अतुलनीय योगदान गरेको स्मरण गरे । उनले नेपाली साहित्य–इतिहासको एउटा कालखण्डमा मोतीरामको विशिष्ट योगदान रहेको उल्लेख गर्दै त्यसले आधुनिक नेपाली साहित्यको विकासका निम्ति मात्रै नभएर समग्र नेपालकै विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले युवाकवि मोतीरामको जीवनी र विशेषताका सम्बन्धमा प्रकाश पारेका थिए । मोती जयन्तीको अवसर पारेर गजल महोत्सव आयोजना गरिएको बताउँदै उनले मोतीरामले नेपाली साहित्यमा नयाँ विधा गजल भित्र्याउन सफल भएको बताए । भानुभक्तलाई खोजेर भानु बनाउने पनि मोतीराम नै भएको चर्चा गर्दै उनले मोतीरामको योगदान नेपाली साहित्यमा उच्चकोटीको रहेको जिकिर गरे । सदस्य सचिव उपाध्यायले प्रतिष्ठानका ११ वटा विभागले सम्बन्धित विषय क्षेत्रसँग सम्बन्धित रहेर स्रष्टा तथा युगपुरुषको जन्मजयन्ती मनाउँदै आएको सुनाए । कोभिड–१९ को महामारीका कारण भौतिक रूपमा कार्यक्रम सम्पन्न गर्न नसके पनि भर्चुअल माध्यमबाट निरन्तर विविध गतिविधि र महोत्सव सञ्चालन भइरहेको बताए । उनले भने, ‘कालो बादलभित्र पनि चाँदीको घेरो हुन्छ भनेजस्तै भर्चुअल माध्यमले भौतिक उपस्थिति जनाउन नसक्ने स्रष्टालाई एउटै मञ्चमा जोड्न सकेको छ ।’ प्रा. उपाध्यायले मोतीरामरचित केही गजलका शेरसमेत सुनाएका थिए ।
प्रतिष्ठानका साहित्य (पद्य÷काव्य) विभागका प्रमुख एवं ‘प्रज्ञा गजल महोत्सव’ का संयोजक प्रा.डा. हेमनाथ पौडेलले दुई वर्षअघिदेखि प्रतिष्ठानले गजल महोत्सव आयोजना गर्न थालेको बताए । उनले गतवर्ष भने कोरोनाका कारण आयोजना गर्न नसकिएको सुनाउँदै यस वर्ष भौतिक रूपमै आयोजना गर्ने तयारी गरिए पनि संक्रमणको जोखिम कायमै रहेकाले भर्चुअल र भौतिक रूपमा कार्यक्रम आयोजना गरेको जनाए । उनले दुई वर्षअघि भएको गजल महोत्सवले घोषणापत्र जारी गर्दै सम्पूर्ण गजललाई समान मानेर सम्मान गरिएको उनले उल्लेख गर्दै रचना रचना नै भएकाले बहरमा लेख्दा मात्रै गजल हुन्छ भन्ने नमानी गजलले भाव र विचार के दिन्छ भन्ने कुरा प्रमुख भएको विचार व्यक्त गरे । उनले गजलकारबीच सम्मान र सहकार्य आवश्यक रहेको बताउँदै एकले अर्कोलाई आक्षेप लगाउने चलनले नेपाली साहित्यको विकास नहुने धारणा राखे ।
साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले कार्यक्रमको औचित्य तथा युवाकवि मोतीरामको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । उनले मोतीरामले मुक्तकीय शैलीका कविता, फुटकर रचना र आठओटा खण्डकाव्य रचना गरेको बताए । नेपाली कवितालाई शृंगारिक धारामा मोतीरामले प्रवर्धन गरेको र गजल नवप्रवर्तन भएको उनको भनाई थियो । पछिल्लो दशकमा युवापुस्ताबीच अत्यन्त लोकप्रिय भएको गजल विधाको स्थापनाको श्रेय मोतीरामलाई नै दिनुपर्ने जिकिर गर्दै उनले गजलमात्रै नभएर नेपाली समालोचनामा पनि मोतीरामको उल्लेख्य योगदान बताए । उनले प्रकाशन युगको स्थापना पनि मोतीरामकै पालामा भएको तथा पुस्तकालय स्थापनामा र सामूहिक लेखनमा, बहुभाषाका कविता लेखनमा समेत मोतीराम आरम्भकर्ता भएको उल्लेख गरे ।
गजलकार सुवास अगमले भर्चुअल माध्यमबाट र सूर्य चापागाईंले भौतिक रूपमै उपस्थित भएर मोतीरामका केही गजल सुनाएका थिए । त्यसपछि देश, विदेशबाट गजलकारले आ–आफ्ना गजल सुनाएका थिए । भौतिक रूपमै उपस्थित भएर गजलकार ज्ञानुवाकर पौडेलले गजलमा आन्तरिक सौन्दर्य हुनुपर्ने उल्लेख गर्दै मतला, रदिफ, मक्ता आदि भएर मात्रै नपुग्ने र आन्तरिक सौन्दर्य भएको गजलमात्रै उत्कृष्ट हुने बताए । उनले २०५२ सालपछि मान्छेमा जानेर वा नजानेर पनि धेरै बोल्ने बानी लागेकाले गजलका विषयमा पनि यस्तै भएको उल्लेख गरे ।
१५६ वर्षअघि नेपाली साहित्यको एउटा युग अर्थात् माध्यमिक कालका प्रवर्तक युवाकवि मोतीरामको जन्म भएको थियो । पिता दयाराम भट्ट र माता रिपुमर्दिनीदेवी भट्टका दोस्रो सन्तानका रूपमा वि.सं. १९२३ साल भाद्र कुशेऔँसीका दिन काठमाडौंको भोसिको टोलमा मोतीरामको जन्म भएको थियो । मोतीराम नेपाली साहित्यमा युवाकविका रूपमा सम्मानित तथा चीरस्मरणीय छन् । उनको निधन १९५३ सालमा कुशेऔँसीकै दिन भएको थियो ।
कार्यक्रममा गजलकार रामबहादुर पहाडी, रवि प्राञ्जल, गोपाल अश्क र शान्ति शर्माले भौतिक रूपमै उपस्थित भएर गजल सुनाएका थिए । भर्चुअलमार्फत् बुँद राना, करुण थापा, घनश्याम न्यौपाने परिश्रमी, टीकाराम उदासीले गजल सुनाएका थिए । यस्तै, मलेसियाबाट दीप दर्शन, दुबईबाट अमरदेव बास्तोला, बहराइनबाट सुन्दर गुरुङ, हङकङबाट जुनू राना मगर, पोर्चुगलबाट स्पन्दन विनोद, बेलायतबाट अञ्जु अञ्जली, अमेरिकाबाट प्रभा पोखरेल, जापानबाट बिन्दा पराजुली, साउदी अरबबाट रामजी रानाभाट र बर्माबाट भीम पाण्डेले भर्चुअल माध्यमबाट गजल वाचन गरेका थिए । यसैगरी नेपालबाट धीरेन्द्र प्रेमर्षि, धनराज गिरी, सुरेश सुवेदी, कमलराज केसी, सीता ऐरी, रामगोपाल आसुुतोष, नारायण गैरे, देवी पन्थी, मन्दिरा मधुश्री, सुविद गुरागाईं, जीत कार्की, पुष्प अधिकारी ‘अञ्जली’ लगायतले गजल वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण प्रज्ञासभा सदस्य एवं सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले गरेका थिए ।
पुस्तक प्रदर्शनी
मोती जयन्तीको अवसर पारेर प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ । १५ दिनसम्म चल्ने उक्त प्रदर्शनीको आरम्भ गर्दै कुलपति उप्रेतीले पाठकको मागलाई ध्यानमा राखेर पुस्तक प्रदर्शनी गरिएको बताए । १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रदर्शनीमा प्रतिष्ठानद्वारा प्रकाशित नयाँ तथा पुराना प्रकाशन रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar