२१ भदौ,काठमाण्डौ – कवि तथा लेखक निर्मलकुमार थापाद्वारा लिखित कविता संग्रह ‘जयश्रीकुबेरनाथ’ सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, अग्रज नृत्यकार भैरवबहादुर थापा, लेखक रेशम विरही र कुमार नगरकोटीले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा लेखक बिरहीले ‘जयश्रीकुबेरनाथ’ माथि टिप्पणी गरेका थिए । उनले कवि थापाले आफ्नै शैली निर्माण गरेर संग्रह ल्याएको सुनाए ।
पचास वटा कविता समावेश रहेको उक्त संग्रहमा समाज, संस्कृति, प्रकृति तथा जीवन र जगतका विविध पक्षलाई प्रस्तुत गरिएको छ । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखक कुमार नगरकोटीले संग्रहभित्र रहेका तीन वटा कविता वाचन गरेका थिए ।
भुपेन्द्र खड्काले कवि थापाले फरकपन दिने कविता ल्याएका जिकिर गरे । रंग नेपालले प्रकाशन गरेको यस संग्रहमा आफूले जीवन र जगतका विविध पक्षलाई भिन्न शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको कवि थापाले सुनाए । यसअघि लेखक थापाका प्रभात फेरी सन्ध्या (कविता संग्रह २०६२), बिजौला (शृंखलाहीन उपन्यास २०६६), युवक (उपन्यास २०७०), एकादेशमा (कथा संग्रह २०७१), एकालाप (कथा संग्रह २०७३) पुस्तक प्रकाशित छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar