५ साउन,काठमाण्डौ – नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् बागमती प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले आगामी केहि दिनमा बागमती प्रदेश सरकार परिवर्तन
हुने बताएका छन् ।
आज मंगलबार एक मिडियासंगको कुराकानीका क्रममा सांसद पाण्डेले बागमती प्रदेश सरकार परिवर्तन निश्चित रहेको बताएका हुन् । कुराकानी गर्दै नेता पाण्डेले केही दिनभित्र नै सरकार परिवर्तन हुने भन्दै मुख्यमन्त्रीका लागि यस अघि चर्चामा रहेका व्यक्तिलेनै एमालेका तर्फबाट सरकारको नेतृत्व गर्नेसमेत बताए ।
केन्द्रमा भएको राजनीतिक परिवर्तनले प्रदेशमा समेत प्रत्यक्ष असरहरू देखा परिरहेकोले सरकार परिवर्तन वर्तमान परिस्थितिको माग भएको उनले बताए । ‘केन्द्रको राजनीतिक परिवर्तनले बागमती प्रदेशमा पनि असर परेको छ । त्यो स्वाभाविक प्रक्रिया पनि हो । प्रदेश सरकारको अवस्था के हो भन्ने कुरा तपाई हामी सबैलाई थाहा भएकै कुरा हो । सरकार परिवर्तन वर्तमान परिस्थितिको पनि माग हो । केही दिन कुर्नुहोस् नेकपा एमाले कै नेतृत्वमा नाम चले कै व्यक्ति मुख्यमन्त्री हुनु बन्नु हुनेछ,’ उनले भने ।
माधव नेपाल पक्षका नेता पाण्डेले प्रदेशमा राजनीतिक गतिविधि सञ्चालनको लागि आफूहरू तयारी अवस्थामा रहेको र केन्द्रीय निर्देशन पर्खिरहेको बताए । प्रदेश सरकारलाई जोगाउन यस अघि भएका सहमति र सहकार्यलाई मुख्यमन्त्री डोरमणि पौडेलका तर्फबाट कुनै पहल नभएको भन्दै सत्तापक्षकै फरक विचारधारामा रहेका सांसदहरुलाई हेप्ने र पेल्ने काम भइरहेको उनले बताए ।
नेता पाण्डेले विगतका गलत क्रियाकलापहरूलाई सुधार्नका लागि पनि मुख्यमन्त्री पौडेलले सत्ता हस्तान्तरण गर्न सक्नु पर्ने बताए । उनले नेकपा एमालेको एकता कायम रहे मुख्यमन्त्री सहित मन्त्रीहरू फेरिने अन्यथा फरक पार्टी निर्माण गरी गठबन्धनको सरकारमा सहभागी भएर सरकारको नेतृत्वमा गर्ने बताए ।
माधव नेपाल समूहले बागमती प्रदेश सरकार जोगाउन कै लागि पनि विपक्षी दलहरूको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको भन्दै सत्ता र शक्तिको आड बोक्नेहरूले विगतका इतिहास पनि पल्टाएर हेर्न जरुरी रहेको उनको भनाइ छ ।
यस विषयमा पार्टी भित्र केही छलफल भएको जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले पनि पद हस्तान्तरण गरेर पार्टी एकता जोगाउनका लागि योगदान गर्ने सहमति समेत गरिसकेको नेता पाण्डेले दाबी गरे । नेकपा एमालेको एकता जोगाउन नेता माधव नेपाल र उनी निकट नेता तथा कार्यकर्ताहरूको योगदानलाई पनि स–सम्मान कदर गर्नु पर्ने उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar