२ साउन,काठमाण्डौ – नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को अनुमति दिएको छ ।
बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तलाई आईपीओ जारी गर्न अनुमति दिएको हो । बोर्डले असार ३१ गते बिहीबार सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर बिक्री गर्न अनुमति दिएको हो ।
दुबै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर जारी गर्न लागेका हुन् । सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते र मानुषी लघुवित्तले २०७८ वैशाख १३ गते बोर्डमा साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै आवेदन दिएका थिए । आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार सानिमा लाइफको आईपीओले ‘केयर एनपि आइआर ट्रिपल बि माइनस’ रेटिङ प्राप्त गरेको छ । जसले कम्पनीमा गरेको लगानी मध्यम किसिमको सुरक्षाको संकेत गर्छ । मानुषी लघुवित्तको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बि प्लस’ रेटिङ दिएको छ ।
कम्पनीले दिएको सिङ्गल बिप्स रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा नगरेको खण्डमा उच्च जोखिमको संकेत गर्छ । आईपीओ निष्कासन पछि सानिमा लायफको चुक्ता पुँजी २ अर्ब र मानुषि लघुवित्तको १० करोड ९३ लाख रुपैयाँ पुग्ने छ । यससँगै नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/०७८ मा २१ संस्थालाई १५ अर्ब ५ करोड ५३ लाख २८ हजार ७०० रुपैयाँ बराबरको प्राथमिक सेयर जारी गर्न स्वीकृति दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar