२७ असार,काठमाण्डौ – एक गोलले पछि परेको स्थिति उल्ट्याएर कोलम्वियाले पेरुलाई हराउँदै कोपा अमेरिका कपमा तेस्रो स्थान हासिल गरेको छ ।
एक गोलले पछि परेको अवस्थामा लुइस डियाजले दुई तथा जुआन कोर्डाडोले एक गोल गरेपछि कोलम्वियाले पेरुमाथि ३–२ पूनरागमन जित निकाल्दै तेस्रो स्थान हासिल गरेको हो । पेरुका योसिमार योटन र जियानलुका लापाडुलाको गोल सान्त्वना बन्यो । ब्राजिलस्थित ब्रासिलिया डिस्ट्रिटो फेडरलमा शनिबार बिहान भएको खेलको पाँचौ मिनेटमा योसिमार योटनको प्रहार बाहिरिदा पेरु अग्रता लिनबाट चुकेको थियो । नवौ मिनेटमा ओस्कार मुरिल्लोले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा कोलम्वियाले अग्रता लिन सकेन । २७औं मिनेटमा जियानलुका लापाडुलाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा पेरुले अग्रता लिन सकेन ।
३२औं मिनेटमा कोलम्वियाका लुइस डियाजले अवसर खेर फाले । ४४औं मिनेटमा यारी मिनाको हेडर पोस्ट नजिकैबाट बाहिरिदा कोलम्विया अग्रता लिनबाट चुक्यो । त्यसमै गोलरक्षक पेड्रो गल्लासेले रिलिज गरेको बललाई काउन्टर अट्याकमा अघि बढाएपछि क्रिस्टियन कुइभाको पासमा अनमार्क रहेका योसिमार योटनले गोल गर्न सफल भएका थिए । जारी कोपामा उनको यो दोस्रो गोल हो । उनले यसअघि क्वाटरफाइनलमा पाराग्वेविरुद्ध गोल गरेका थिए ।
दोस्रो हाफको शुरुमै जुआन कोर्डाडोले फ्रिकिकमा दर्शनीय गोल गर्दै कोलम्वियालाई खेलमा फर्काएका थिए । ४९औं मिनेटमा एलेक्सान्डर कालेन्सले फउल गरेपछि प्राप्त फ्रिकिकलाई कोर्डाडोले जाली चुमाउँदा गोलरक्षक गल्लासेसले सही दिशामा डाइभ दिएपनि बचाउन सकेन । ५१औं मिनेटमा लुइस डियाजले सुवर्ण अवसर खेर फाल्यो ।
६५औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्वियालाई २–१ को अग्रता दिलाए । गोलरक्षक कामिल्लो भर्गासको लामो पासलाई नियन्त्रणमा लिदै उनले एक डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका थिए । ८३औं मिनेटमा जियानलुका लापाडुलाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले राजिल गार्सियाको कर्नरलाई हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै कोलम्वियालाई ३–२ को रोमाञ्चक जित दिलाए । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहारलाई गोलरक्षक गल्लासेले बचाउन सकेन । यो जितसँगै कोलम्वियाले समूह चरणमा भोगेको हारको बदला लिएको छ । समूह चरणमा पेरुले २–१ को जित निकालेको थियो । कोपाको उपाधिको लागि आइतबार बिहान साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच माराकाना स्टेडियममा नेपाली समयअनुसार ५ः४५ बजे हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar