‘आरविवि म्युचुअल फण्ड-१’ असार २३ गतेबाट : कति गर्ने लगानी ?
शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ २२, मंगलबार (३ साल अघि)
९६० पाठक संख्या
२२ असार,काठमाण्डौ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी ‘आरविवि म्युचुअल फण्ड-१’ भाेलि असार २३ गते, बुधबारदेखि खुल्ला गर्दैछ । फण्डले एक अर्ब रूपैयाँ बराबरकाे १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे ।
यस योजनाको कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । ७ वर्ष अवधि रहेकाे यो एक बन्दमूखी योजना हो । कोष प्रवद्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । उक्त इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।
इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्कासन गर्न लागिएको हो ।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताहरुले meroshare.cdsc.com.np मा गई आवेदन दिन सक्नेछन् । उक्त इकाईमा लगानीकर्ताले असार २३ गतेदेखि छिटोमा असार २७ गतेसम्म र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।