१४ असार,बाजुरा – असारको सुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ।
वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौं बस्ती जोखिममा रहेका छन् । जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार पहिरोले विस्थापित भएका छन् । गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि गाउँ नै विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक बिर्खबहादुर पाण्डेले बताए । गाउँभन्दा तलपट्टिको खोलामा गत वर्ष पनि पहिरो गएको र अहिले पनि गाउँ नजिकै रुगिन हुँदै विच्छ्या जोड्ने सडक निर्माण भएपछि सडक भासिएर पहिरो गएकाले बस्ती नै विस्थापित भएको उनको भनाइ छ ।
सडकका कारण गाउँ नै भासिन थालेपछि स्थानीयवासी त्रिपालको सहारामा बस्दै आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । पहिरोले विस्थापित भएका गाउँलेहरु एउटै त्रिपालमा चार परिवारले रात बिताउने छन्। विस्थापित भएको खबर आएपनि अविरल वर्षाका कारण क्युडी जान नसकिएको र केही दिनपछि गएर स्थलगत अनुगमन गर्दा बस्ती नै सार्नुपर्ने अवस्था भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए ।
बस्ती नै विस्थापित भएपछि गाउँपालिकाले राहत र उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्ने समेत अध्यक्ष मल्लले बताए । प्रहरी, गाउँपालिका कर्मचारी र वडाध्यक्षको संयुक्त अनुगमनबाट पहिरोले विस्थापित भएका क्युडी बस्तीका परिवारका बारेमा मुचुल्का तयार पारेर पालिकामा बुझाएका छन्।
पहिरोले क्युडीका घरहरु चर्किएको र घरभित्र पानी पसेर कतिपय घरको खाद्यान्नलगायतका सामग्री ओसार्न नसक्दा आफन्तले दिएको खानेकुरा खाएर बस्न बाध्य भएको गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक पाण्डेको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar