१ असार,विराटनगर – मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याइएको भनिएका बोयर जातका बाख्रा स्थानीय जातको भएको पुष्टि भएपछि बाख्रा खरिद सम्झौता नै खारेज गरिदिएको छ ।
नगरपालिकाले, गत जेठ ३ गते सङ्खुवासभा स्थित् ग्रो अर्गानिक कृषि प्रालिसंग गरेको बोयर बाख्रा खरिद गर्ने सम्झौता अस्ट्रेलियाबाट ल्याइएको बोयर जातका बाख्राका पाठापाठी भन्दै स्थानीय जातको बाख्रा भएको पुष्टि भएपछि बाख्रा खरिद सम्झौता नै खारेज गरिदिएको हो ।
नगरपालिकाको हिजो बसेको ६९ औँ कार्यपालिकाको बैठकले सो प्रालिसँग नगरपालिकाले बोयर बाख्रा खरिद सम्बन्धमा गत जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिए । प्रवक्ता सुवेदीका अनुसार नगरपालिकाले ग्रो अर्गानिकले ठेक्काबापत जम्मा गरेको जमानत रकम जफत गरी कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
नगरपालिकाले एक करोड २५ लाख मूल्य खर्च गरेर अस्ट्रेलियाबाट बोका ल्याएर वितरण गरेको दाबी गरेको केही दिन पछि ती बाख्रा अस्ट्रेलियाबाट नभई बागलुङ, धादिङ तथा पोखराबाट भित्र्याइएको खुलेको थियो । पशु सेवा विभाग अन्तर्गतको आयात नियमन शाखाले निषेधाज्ञाको समयमा अस्ट्रेलियाबाट बोका पाठी नभित्रिएको जानकारी दिएको वास्तविकता बाहिरिएसंगै नगरपालिकाले नगर कार्यपालिका सदस्य बिन्दु कला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
छानविनका क्रममा पनि ती बाख्रा अस्ट्रेलियाबाट नभई बागलुङ, धादिङ तथा पोखराबाट भित्र्याइएको पुष्टि भएको थियो । नगरपालिकाले खरिद गरिएको भनिएको बाख्राहरू नवलपरासीको केशर एग्रो फर्मबाट किनिएको पुष्टिभएसंगै ग्रो अर्गानिक कृषि प्रा.लि संखुवासभालाई ठेक्काबापत हालसम्म कुनै प्रकारका रकम भुक्तानी नै नगरेको नगरपालिकाले जनाएको छ ।
बेलबारी नगरपालिकाले अस्ट्रेलिया ल्याइएका बोयर जातको बाख्रा भन्दै कोरोनाको महामारीबीच गएको जेठ १५ मा कृषक समूह तथा व्यवसायिक फर्महरूलाई बाख्राका पाठापाठी वितरण बितरण गरेको थियो । सो समयमा नगरपालिकाले ५२ वटा बोयर जातको बोका तथा ३८ वटा पाठी वितरण गरिएको थियो ।
अस्ट्रेलियाबाट ल्याइएको भनिएका बोयर जातका बाख्राका पाठा – पाठी लोकल भएको पुष्टि भएपछि घटनामा नगरपालिका समेत विवादमा मुछिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar