वासिङटन – विश्व बैंकले सन २०२१ को विश्वको आर्थिक वृद्धि दर ५ दशलमव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
बैंकका अनुसार यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हुनेछ । मंगलबार सार्वजनिक ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदनमा सन २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने एवं गत जनवरीमा बैंकले यो वर्ष ४ दशलमव १ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । गत वर्ष विश्वको अर्थतन्त्र ३ दशलमव ५ प्रतिशतले खुम्चिएको थियो । कोरोना भाइरस महामारीले व्यापारमा पु–याएको अवरोध, व्यवसाय बन्द र मानिसलाई घरभित्रै बस्न बाध्य पारेका कारण आर्थिक वृद्धिमा नकारात्मक असर परेको आकलन गरिएको छ ।
बैंकले गरेको यो प्रक्षेपण सन् १९७३ पछि सबैभन्दा बढी हो । सन् १९७३ मा विश्वको आर्थिक वृद्धि ६ दशलमव ६ प्रतिशत रहेको थियो । तर सन् २०२१ को आर्थिक वृद्धि विश्वका सबैजसो मुलुक एवं क्षेत्रमा समान किसिमको नहुने बैंकको भनाई छ । संयुक्तराज्य अमेरिका जस्ता धनी राष्ट्रले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन करदाताले बुझाएको ठूलो राजश्व रकम आर्थिक पुनरुद्धारमा खर्च गरेका छन् । सोही कारण ठूला अर्थतन्त्र भएका ९० प्रतिशत मुलुकले अर्को वर्षभित्रै कोभिड–१९ महामारीको पूर्व अवस्थामा आफ्ना मुलुकलाई पु–याउने सम्भावना रहेको छ । तर विकासशील मुलुकका लागि परिस्थिति त्यति सहज हुने देखिएको छैन ।
विश्व बैंकले कोभिड विरुद्धको खोप न्यून आय भएका मुलुकलाई व्यापक स्तरमा उपलब्ध गराउन पनि आग्रह गरेको छ । यी मुलुकमा खोप अभियान सुस्त रहेको छ । बैंकले सन २०२१ मा अमेरिकी अर्थतन्त्र ६ दशलमव ८ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । जनवरीमा अमेरिकी अर्थतन्त्र ३ दशलमव ५ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण गरिएको थियो । कोभिडका कारण विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाको गत वर्षको आर्थिक वृद्धि ३ दशलमव ५ प्रतिशतले गिरावट आएको थियो । तर खोप अभियान तिब्र बनाएसँगै अमेरिकी अर्थतन्त्र उकालो लागेको छ ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको अर्थतन्त्र सन २०२१ मा ८ दशलमव ५ प्रतिशतले वृद्धि हुने बैंकको अनुमान छ । कोरोना भाइरसलाई चाँडै नियन्त्रण गरी अर्थतन्त्र खुला गरेको चीनको गत वर्ष पनि अर्थतन्त्र २ दशलमव ३ प्रतिशतले वृद्धि भएको थियो । युरो मुद्रा प्रयोग गर्ने युरोपका १९ वटा मुलुकको अर्थतन्त्र ४ दशलमव २ प्रतिशतले वृद्धि हुनेछ । गत वर्ष यी मुलुकको अर्थतन्त्रमा ६ दशलमव ६ प्रतिशतको गिरावट आएको थियो ।
जापानको अर्थतन्त्र पनि गत वर्ष ४ दशलमव ७ प्रतिशतले गिरावट आए पनि यो वर्ष २ दशलमव ९ प्रतिशतले वृद्धि हुने विश्व बैंकको भनाई छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar