२ जेठ,बागलुङ – बागलुङको ग्रामिण भेग बडिगाड गाउँपालिका ४ मा बैशाख ११ गते एउटा बिहे भोज थियो । बिहेमा उक्त वडाका सहित वरिपरि गाउँका धेरैको जमघट चल्यो । बिहे भोज पछि सबै गाउँले खुसी थिए । नातीको बिहे भएकाले ८७ वर्षीय पुरुष पनि जमेरै भोज मनाए । तर, त्यो खुसी लामो समयसम्म टिक्न पाएन । सासै फेर्न गाह्रो हुन थालेपछि बैशाख १७ गते धौलागिरि अस्पतालमा उपचारका लागि ल्याइयो र स्वाब परीक्षण गरियो । १८ गते ती पुरुषमा कोरोना पोजेटिभ देखियो । अस्पतालमा उपचारकै क्रममा २३ गते ती पुरुषको मृत्यु भयो । मृत्यु भएका ती पुरुषको ५१ र ४० वर्षको छोरा र ५३ वर्षीयसहित २ छोरी छन् ।
बाबुको स्वास्थ्यमा खराबी आएको अर्को दिनमा ४० वर्षीय छोराको स्वास्थ्यमा पनि समस्या देखियो । परीक्षण गर्दा उनमा पनि कोरोना देखियो । ती पुरुषलाई पनि धौलागिरि अस्पतालमै उपचार गरिँदै थियो । घरका जेठा छोरा ५१ वर्षीय पुरुष कामको सिलसिलामा भैरहवा थिए । यता, कान्छो भाइलाई कोरोना पुष्टि हुँदै गर्दा भैरहवामा दाजुको पनि स्वास्थ्यावस्था बिग्रिसकेको थियो । उपचारका लागि भैरहवाका सबै अस्पताल धाउँदा पनि कतै बेड पाएनन् ।
ती पुरुषलाई थप उपचारका लागि पोखरा ल्याइयो । कोरोना परीक्षण पोजेटिभ आयो । तर, उनी पनि धेरै समय भने व्यतित गर्न पाएनन् । बैशाख ३० गते कान्छाको धौलागिरि अस्पताल र जेठा छोराको पोखरामा उपचारकै क्रममा मृत्यु भयो । बडिगाड गाउँपालिका ४ जलजलाका वडाध्यक्ष प्रेम गलामीका अनुसार २ भाइको २ फरक ठाउँमा एक घन्टाको फरकमा मृत्यु भएको हो । ‘दाजुलाई भैरहवामा बेड नपाएपछि पोखरा उपचार गर्न ल्याइएको थियो । तर, पोखरा आउँदा पनि बाँच्न पाएनन्, दाजुभाइलाई नै एक घन्टाको फरकमा कोरोनाले लग्यो,’ उनी भन्छन् ।
कोरोनाबाट एकै परिवारको ३ जनाको मृत्यु भइसकेपछि पनि अझै परिवारमा बज्रपात पर्न छाडेको छैन । आइतबारमात्रै परिवारकी जेठी छोरी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको छ । उनको पनि धौलागिरि अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो । बिहे भोजबाट फर्किएपछि अहिले गाउँका सबै रुघाखोकी र उच्च ज्वरोले थलिएका छन् । गाउँमा बिरामीको संख्या बढेपछि गाउँपालिकाले १९ र २२ गते पहिलो पटक परीक्षण गरेको थियो । परीक्षणका क्रममा एकैचोटी ४९ जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष प्रेम गलामी बताउँछन् ।
बिहे भोजपछि गाउँले नै बिरामी परेको र स्वाब परीक्षणमा सबैको कोरोना देखिन थालेको वडाध्यक्ष प्रेम गलामीले पुष्टि गरे । ‘पछिल्लो पटक ३० जनाको स्वाब परीक्षण गरेका थियौं । २५ जनामा कोरोना देखियो,’ उनले भने, ‘अहिले गाउँ नै बिरामी परेका छन् । हाहाकार मच्चिएको छ । गाउँ नै सखाप होला जस्तो भो ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar