एजेन्सी – स्पेनिस ला लिगामा गएराती भएको खेलमा रियल म्याड्रिडले क्याडिजमाथि ३ – ० को सहज जित हात पार्दै टेवलको शीर्षस्थानमा पुगेको छ । शीर्षस्थानमा उक्लिएको रियलको ३२ खेलबाट ७० अंक पुगेको छ ।
क्याडिजको मैदानमा बुधबार राति भएको खेलमा रियलको जितमा करिम बेन्जेमाले दुई तथा अल्भारो ओर्डिजोलाले एक गोल गरे । सबै तीन गोल पहिलो हाफमा १० मिनेटको अन्तरमा भएको थियो । रियलले ३०औं मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।
पेनाल्टी बक्समा भिनिसियस जुनियरलाई इसाक कार्सेलेनले लडाएपछि भिएआरको सहायतामा रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा बेन्जेमा चुकेनन् । ३३औं मिनेटमा बेन्जेमाकै पासमा अल्भारो ओर्डिजोलाले गोल गर्दै रियललाई २–० ले अघि बढाए ।
४०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै रियललाई पहिलो हाफमा ३-० को आरामदायी अग्रता दिलाए । उनले क्यासमिरोको पासमा गोल गरेका थिए । त्यसअघि ३७औ मिनेटमा क्यासमिरोले सुवर्ण अवसर खेर फालेको थियो । ८६औं मिनेटमा मार्को एसेन्सियोले अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो । घरेलु टोली क्याडिजले कुनैपनि समय रियलको पोस्टमा आक्रमण बुन्न सकेन । यो जितसँगै रियलले गत अक्टोवरमा घरेलु मैदानमा भोगेको हारको बदला लिन सफल भएको छ । रियल त्यतिबेला क्याडिजसँग १-० ले स्तब्ध बनेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar