३० चैत,काठमाण्डौ – हिन्दुहरुको सबैभन्दा ठुलो मेला महाकुम्भमा शाही स्नान गर्न पूर्वराजा ज्ञानेन्द्र शाह हरिद्वार पुगेका छन् ।
हिन्दू सम्राटको हैसियतमा उनले शाही स्नान गर्न लागेका हुन् । निरंजन पीठाधीश्वर कैलाशानन्द गिरीले शाहलाई हरिद्वारमा भब्य स्वागत गरेका थिए । सोमबार हुने शाही स्नानमा भाग लिन उनि आइतबार विहान हरिद्वार पुगेका हुन् ।
हरिद्वार पुगेका उनले दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेर पञ्चायती अखाडा श्री निरन्जनी पुगेर त्यहा रहेका सन्तहरुसग भेटघाट गरेका थिए । उत्तराखण्ड राज्य अन्तर्गत हिन्दूहरुको प्रमुख धार्मिक स्थल हरिद्वारमा आयोजित महाकुम्भ मेलामा शाह दम्पतीले शाही स्नान गर्नेछन् । मेलाका लागि गत विहीबार भारत प्रस्थान गरेका पूर्वराजा शाह दम्पतीको सनातन विधिअनुरुप स्वागत गरिएको हो ।
हरिद्वारमा पूर्वराजा शाहलाई उत्तरखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले विशेष स्वागत गरेका थिए । हरिद्वार पुगेका शाहले दक्षिणकाली मन्दिर पहुँचमाईको दर्शन गरेका छन् भने सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीबाट आशीर्वाद समेत ग्रहण गरेका छन् ।
महाकुम्भ मेलाका अवसरमा पूर्वराजा शाहले सोमबार ‘हिन्दू सम्राट’को हैसियतमा गंगामा शाही स्नान गर्ने कार्यतालिका छ । शाही स्नान कार्यक्रममा स्वामी कैलाशानन्द गिरी, उत्तरखण्डका मुख्यमन्त्री रावत, केदारनाथका पिठाधीश लागायत साधु सन्तको उपस्थिति रहने जनाइएको छ ।
महाकुम्भको मार्च ११ मा पहिलो शाही स्नान भइसकेको छ भने दोस्रोपटकको शाही स्नान अप्रिल १२ अर्थात ३० चैतमा गरिँदैछ । कुम्भमेलाका अवसरमा हरिद्वार पुगेका शाहले यसलाई आफ्नो सौभाग्य भनेका छन् । शाही स्नानलाई राजयोगी स्नान पनि भनिन्छ । सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणामा शाह दम्पती गत विहीबार भारत प्रस्थान गरेका हुन् ।
कुम्भ मेलामा आइतवार सम्बोधन गर्दै पूर्वराजा शाहले हिन्दू धर्ममा ह्रास आएको बताउदै यसलाई बचाउनु पर्ने बताएका छन् । हिन्दु धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले हिन्दु धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शले विश्वकै मानवीय आदर्शलाई डो¥याउने प्रतिक्रिया दिए । पत्नी कोमल शाहसँगै कुम्भ मेलामा सहभागी भएका शाहले महामण्डेश्वर कैलाशानन्द गिरीले पूर्वराजदम्पतीलाई स्वागत र आशिर्वाद दिएको अवसरमा यस्तो बताएका हुन् ।
सम्बोधनको क्रममा ज्ञानेन्द्र शाहले भने, ‘हाम्रो हिन्दु सभ्यता, हाम्रो हिन्दुत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै सबै नै महत्वपूर्ण छन । तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशीलन आफैँमा गहन छन् ।
नेपाल र भारतका कैयन देवस्थलहरु, धामहरु एवम् अनेकौँ स्थानहरु यस्ता छन् जसले सदैव– सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्दछन् ।’ तर बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि पूर्वीय दर्शन, धर्म र सनातनीय संस्कारमा ह्रास आएकोमा ज्ञानेन्द्र शाहले चिन्ता व्यक्त गरेका थिए ।
‘अब हामीले हाम्रो धर्म बचाउनू छ, हाम्रो संस्कृतिको रक्षा गर्नू छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नू छ । हाम्रा गंगा नद नदिहरूको प्रवाह स्वच्छ पार्नूछ । भगवान रामले भन्नूभएको थियो, अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी, भन्ने सद्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ’ शाहले भनेका छन् । उनले महाकूम्भ मेलाको यो विशाल भेलाको र उपस्थित सबै विद्वान, विदूषि, सन्त महात्माहरूको ध्यान पूगोस् पनि ध्यानाकर्षण पनि गराएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar