२७ फागुन,काठमाण्डौं – आज बिहीबार महाशिवरात्री, हिन्दू धर्मावलम्बीहरुले शिवरात्रि मनाउँदैछन्।
शिव भगवानको पूजा आराधना गरिने यो पर्वका दिन देशभरका शिवालय तथा शिव मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लाग्छ। त्यसमा पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको निकै लामो लाइन लाग्छ। यस वर्ष कोरोना महामारीका कारण भीड अलि कम हुने अपेक्षा गरिएको छ। पशुपति क्षेत्र विकास कोषको तयारी पनि यसवर्ष सामान्य देखिन्छ। विगतका वर्षमा झिलिमिली बत्ती र फूलको अत्यधिक प्रयोग हुने गरेकोमा यस वर्ष कम छ।
गेटहरु बनाउने तथा सजाउने काम पनि भएको छैन। भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या कम हुने भएकाले सोही अनुसार तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यसपटक ३ लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने लक्ष्य राखिएको छ। दर्शनका लागि सयभन्दा बढी साधुसन्त आएका छन्। केही साधु आउने क्रममा छन्। भक्तजनलाई व्यवस्थित तरीकाले दर्शन गर्न पाउने व्यवस्था मिलाइएको कोषले जनाएको छ। तीनवटा गेटबाट प्रवेश गर्न पाउने व्यवस्था पनि गरिएको छ। कोषले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग समन्वय गरी ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्था मिलाएको छ।
विभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागि छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको ट्राफिक महाशाखाले जनाएको छ। धेरै टाढाबाट भक्तजनहरु आउने हुनाले उनीहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारीसाधनलाई निर्वाध आवतजावतको व्यवस्था मिलाइएको महाशाखाको भनाइ छ।
नियमितजस्तै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रुपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको छ। तर भक्तजनको भीडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने उनले जानकारी दिए।
मालवाहक सवारीसाधनहरु तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने , सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारीसाधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ।
दर्शनार्थी एव भक्तजनका सवारीसाधनलाई बनकाली खुल्ला चौर, सिफल चौर, गुह्हेश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ। यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारीसाधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र वनकालीभित्र राखिने छ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ। गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको छ।
चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar