१५ माघ,काठमाडौं – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आज (बिहीबार)देखि शुरु भएको छ ।
हिन्दु परम्परा अनुसार आज पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिने प्रचलन रहेको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
यस अवसरमा बिहीबारैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायणको मेला लाग्दछ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ । ‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखाली पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्’, इतिहासकार श्रेष्ठले भने । यस वर्ष कोरोना महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ । व्रतालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष मीजेन्दकाजी श्रेष्ठले यस वर्ष माघ १५ गतेदेखि फागुन १५ गतेसम्म मेला लाग्ने बताए ।
विगत वर्षमा करिब ४ सयले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितार्थ राखिने जनाइएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ यसपटक व्रतमा सहभागी भई परम्परादेखि संस्कृति संरक्षण गर्नेछन् । विगत वर्षमा जस्तो मेला भने यसपटक नलाग्ने समितिले जनाएको छ । व्रतालु बुधबार बेलुकीदेखि नै साँखुमा वास बस्न आउँछन् । बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि शुरु हुन्छ । कोरोनाका कारण यस वर्ष वर्तालुलाई एउटै घरमा राख्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ ।
सबै ब्रतालुको कोरोना एण्टिजेन परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको छ । निमोनियाको एक्स रे गरिएकामा त्यसको समेत रिपोर्ट नेगेटिभ आएको अध्यक्ष श्रेष्ठले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar