२४ मंसिर,काठमाडौं – कोरोना संक्रमणलाई बाहाना बनाएर लगाएको प्रतिबन्ध चीनले फुकुवा नगर्दा नेपाली व्यवसायीहरू दक्षिणी नाका प्रयोग गर्न बाध्य भएका छन् ।
कोरोना संक्रमणको प्रभाव देखाएर चीनले ल्हासा गोदाम र स्थलमार्गहरूमा थन्किएको नेपालीको सामान आयातमा लगाएको प्रतिबन्ध अझै फुकुवा नगर्दा नेपाली व्यवसायीहरू भारतको बाटो भएर दक्षिणी नाका प्रयोग गर्न बाध्य भएका हुन् । रसुवागढी र तातोपानी नाकाको स्थलमार्ग दिन प्रतिदिन असहज बन्दै गएपछि व्यवसायीहरू जलमार्ग भएर व्यापार गर्न बाध्य हुनुपरेको बताएका छन् ।
चीनले लगाएको प्रतिबन्ध अझै फुकुवा नगर्दा सामान आयातमा असहज मात्र नभई , व्यापारिक प्रयोजनका लागी नेपाली व्यवसायीहरुले अझै चीन फर्कने अनुमति समेत पाएका छैनन् । लामो समयदेखि व्यापार गर्दै आएका नेपालीलाई कोरोनाका कारण अझै चीन फर्कने अनुमति दिइएको छैन । यसबाट उनीहरूले बजारमा मागअनुसारको सामान अर्डर गर्न समेत नपाएका उनिहरुको गुनाशो छ । ‘हामीले व्यापारीलाई व्यापारिक प्रयोजनका लागी चीन जाने व्यवस्था मिलाउन नेपालस्थित चिनियाँ दूतावासलाई पटक पटक अनुरोध गर्दै आएका छौं,’ गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष राजन कुमार जमकट्टेलले भने ।
जमकट्टेलका अनुसार व्यापारीहरू सामान अर्डरका लागि समेत चीन जान पाएका छैनन् । त्यस्तै उनका अनुसार चीनले अहिले आफ्नो मुलुकको वर्किङ अनुमति भएका, चिनियाँ नागरिकसँग विवाह गरेका वा कुनै प्रतिष्ठित कम्पनीको लिखित अनुरोधमा मात्र नेपालीलाई भिसा दिने गरेको छ । त्यसका लागि पनि एक महिनाअघि निवेदन दिनुपर्ने प्रावधान राखेको छ ।
त्यस्तै पछिल्लो समय नेपाली व्यवसायीहरूले आफैं चीन गएर अर्डर गर्ने र सामान छुटाउने गर्दै आएका थिए । चीन जान सहज प्रवेश नपाएपछि पोहोर अर्डर गरेका सामान यो वर्ष पनि भित्र्याउन पाएका छैनन् । यसबाट व्यवसायीले करोडौं नोक्सानी बेहोर्नुपरेको मात्र छैन, सामान ढिला आउँदा बिक्री नहुने समस्या पनि भोग्नुपरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar