नेकपा सचिवालय बैठक : ओली पक्ष र प्रचण्ड-माधव पक्ष नेताहरुको छुट्टाछुट्टै तयारी
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २०, शनिबार (३ साल अघि)
५७० पाठक संख्या
२० मंसिर,काठमाडौं – आज (शनिवार) सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टिको सचिवालय बैठक बस्दैछ ।
गत बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि स्थगित भएको बैठक राखिएको हो । त्यस्तै आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टि अध्यक्ष ओली समेत सहभागी हुनेगरी बैठक राखिएको हो ।
त्यस्तै आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ । यसैबीच तीन दिनको बीचमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादको प्रयास भएपनि सफल भने हुन सकेको छैन ।
आजको बैठकमा कसरी प्रस्तुत हुने भनेर दुवै पक्ष (खुमलटार र बालुवाटार) आन्तरिक छलफलमा जुटेका छन् । बैठकअघि ओली पक्षका नेताहरु बालुवाटारमा र प्रचण्ड-माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । त्यस्तै आजको बैठकलाई सबैले चासोको रुपमा समेत हेरेका छन् । किनकी, आजको बैठकमा कार्यकारी अध्यक्ष दाहाल पक्ष आक्रामक ढङ्गबाट प्रस्तुत हुँदैछ भने ओली पक्ष रक्षात्मक कोणबाट अगाडि बढ्ने रणनीतिमा छ ।
ओलीको कार्यशैलीसँग पहिल्यैदेखि रुष्ट दाहाल-नेपाल पक्षले ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताउँदै आएको छ । दुई वटै पद (प्रधानमन्त्री र पार्टी अध्यक्ष)बाटै राजीनामा दिनुपर्ने वा एक वटा पदबाटै भए पनि राजीनामा दिनैपर्ने अडानमा रहँदै आएको दाहाल-नेपाल पक्षले अब भने बहुमतले नै भए पनि पेलेर अगाडि जाने रणनीति बनाएको छ ।
दाहाल-नेपाललाई उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेतामा झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको साथ छ भने ओलीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले साथ दिँदै आएको छन् । यसकारण पनि अध्यक्ष दाहाल बहुमत र कार्यकारी पदको उपयोग गर्दै आजको बैठकबाट निकास खोज्ने प्रयासमा छन् ।
खासगरी आजको बैठकलाई विशेष रुपमा हेर्नुको कारण भनेको, भोलिको स्थायी कमिटीको बैठक पनि हो । अध्यक्ष दाहाल पक्ष आजको सचिवालयबाट कुनै किसिमको सहमति नभएको खण्डमा दुरुस्तै प्रस्ताव भोलिको स्थायी कमिटीसम्म पुर्याउने मनसायमा छ । तर, ओली पक्ष यो चाहँदैन । कारण, गत २८ कात्तिकमा अध्यक्ष दाहालले ओलीमाथि लगाएका आरोपहरुसँग ओली डराएका छन् । १३ मंसिरमा ओलीले जवाफको नाममा ३८ पृष्ठ लामो प्रत्यूत्तर लेखेपनि ओली अध्यक्ष दाहालको १९ पृष्ठ लामो प्रस्तावबाट ओली नमज्जाले झस्किएका छन् ।
आजको बैठकमा ओलीले उनै दुई वटा प्रस्तावहरुबाट साझा प्रस्ताव बनाएर भोलिको स्थायी कमिटीमा लाने मनसाय बनाएका छन् भने दाहाल पक्षले यसलाई स्वीकारिसकेको छैन । सहमति होला वा नहोला, साझा प्रस्ताव बन्ला वा नबन्लालगायतका विषयहरुले पनि आजको सचिवालयलाई खास रुपमा हेरिएको छ । अध्यक्ष दाहालले भने यसअघि नै ‘साझा प्रस्ताव बन्ने सम्भावना कम छ’भनी भनिसकेका छन् ।