कैलाली प्रहरी हत्या प्रकरण : ८ जना पुर्पक्षका लागी कारागार चलान
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १७, बुधबार (३ साल अघि)
७३१ पाठक संख्या
१७ मंसिर,धनगढी – कैलालीमा सहायक प्रहरी निरिक्षक र प्रहरी जवानको हत्या अभियोगमा पक्राउ परेका ८ जनालाई कारागार चलान गरिएको छ ।
गत कार्तिक १ गते कैलालीको धनगढीमा सहायक प्रहरी निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । प्रहरीका अनुसार हिजो (मंगलवार) जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असै) बिक र प्रहरी जवान साउद बेपत्ता भएका थिए। भोलीपल्ट कार्तिक २ गते विकको र दुई दिनपछि साउदको हत्या गरेकै अवस्थामा नेपाल-भारत सीमा भएर बग्ने मोहन नदीमा शव फेला परेको थियो ।
त्यसलगत्तै प्रहरीले हत्यामा संलग्न धनगढी-१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश रानालाई पक्राउ गरेको थियो । घटनामा संलग्न २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने राम गोपाल रानालाई पनि पक्राउ गरेको थियो ।
त्यसपस्चात् अनुसन्धानकै क्रममा रहेका उनिहरु सबैलाई हिजो (मंगलवार) नै पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक डिएसपी प्रतीक विष्टले बताए।