शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (३ साल अघि)
४१८ पाठक संख्या
१६ मंसिर,काठमाडौं – आज दिउँसो बस्न लागेको नेकपा सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रतिवेदनमाथि अर्का अध्यक्ष प्रचण्डले जवाफ फर्काउने तयारी गरेका छन् ।
पार्टी मुख्यालय धुम्बाराहीमा आज दिउँसो १ बजे बस्न लागेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले जवाफको तयारी गरेको स्रोतले बताएको छ । दुवै अध्यक्षले राजनैतिक प्रतिवेदन पेश गरेपछिको अवस्थाबारे छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।
गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै सचिवालयमा प्रस्ताव पेश गरेका थिए ।
त्यस्तै गत मंसिर १३ गतेको बैठकमा ओलीले ५३ बुँदे जवाफ सहितको प्रतिवेदन पेश गरेका थिए । गत शनिवारको बैठकमा पनी प्रचण्डले ओलीको दस्तावेज दम्भले भरिएको पोको भएको टिप्पणी गरेका थिए ।
उता ओली र प्रचण्ड दुवै प्रस्तावमाथि छलफल गरेर स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा लैजानुपर्ने प्रचण्ड र माधव नेपाल समूहको माग छ । ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान लिएको छ ।
नेकपा स्थायी कमिटी बैठक मंसिर १८ गते र केन्द्रीय कमिटी बैठक मंसिर २५ गतेदेखि काठमाडौंमा शुरू हुँदैछ ।