७ मंसिर, काठमाडौं – मन्त्रिपरिषद बैठकले बलात्कारविरुद्धको कानुन थप कडा बनाउने अध्यादेश पारित गरेको छ ।
आज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश पारित गरेको हो । उक्त अध्यादेश आजै जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको समेत बताइएको छ ।
केही दिनअघि कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्मा पेस गरेको थियो ।
मुलकी अपराध संहिता २०७४ अनुसार हालको कानुमा १० बर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांग र ७० बर्षमाथिका महिलालाई बलात्कार गरेमा जन्मकैद र १४ वर्ष भन्दा मुनिका बालबालिकालाई बलात्कार गरे १८ देखि २० कैदको व्यवस्था छ ।
त्यस्तै १४ माथि र १६ मनिकालाई बलात्कार गरे १२ देखि १४ बर्ष कैदको व्यवस्था छ ।
१६ देखि १८ सम्मका लाई बलात्कार गरे १० देखि १२ वर्ष कैदको व्यवस्था छ ।
त्यस्तै १८ वा त्यो भन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्ष कैद रहेको छ ।
बैबाहिक बलात्कारका घटनामा भने ५ वर्षसम्म कैदको व्यवस्था छ ।