बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक : यस्ता छन् एजेण्डा !
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २८, शुक्रबार (४ साल अघि)
७२३ पाठक संख्या
२८ कार्तिक,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा पार्टीमा देखिएको विवादका विषयमा छलफल हुनेछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा हुने र अन्य विभिन्न विषयमा छलफल हुने जानकारी दिएका छन् ।
कर्णालीका मुख्यमन्त्रीविरुद्ध दार्ता भएको अविश्वासको प्रस्ताव, पर्सामा नेकपा गाउँपालिका सचिवको हत्या, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुखसँग गरेको भेटवार्ता, कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहललगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको श्रेष्ठले बताएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा महासचिव विष्णु पौडेलले आजका लागि बैठक बोलाएका हुन् ।
अध्यक्ष ओलीले लामो समयदेखि बैठक बोलाउन अस्वीकार गरेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन ।
कार्यकारी अध्यक्ष प्रचण्डले आफूले कार्यकारी अधिकारको प्रयोग गरेर बैठक बोलाउने तयारी गरेपछि ओली बैठक बोलाउन सहमत भएका थिए ।
नेकपाभित्रको विवाद बढ्दै गएपछि आजको बैठकमा लागि दुबै पक्षले आआफ्नो तयारी गरेका छन् । ओलीले आफू निकट नेताहरुसँग निरन्तर छलफल गरेका छन् भने प्रचण्डले पनि आफू निकट नेतासँग परामर्स गरेका छन् ।
प्रचण्ड सहितका नेताहरुले अध्यक्ष ओलीले भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नगरेर विगतको सहमति उल्लंघन गरेको आरोप लगाएका छन् भने ओलीले प्रचण्डसहितका नेताले आफूविरुद्ध गुटबन्दी गरेको बताउँदै आएका छन् ।
आजको बैठकमा पनि ओली पक्षका नेताहरुले स्थायी कमिटी बैठकको निर्णयकै आधारमा समाधान खोजिने बताएका छन् भने प्रचण्ड पक्षका नेताहरुले अब अवस्था धेरै परसम्म पुगिसकेको बताएका छन् ।