२८ कार्तिक,काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा पछिल्लो विवादका बीच आज सचिवालय बैठक बोलाइएको छ ।
आज शुक्रबार अपराह्न ४ बजे बोलाइएको सचिवालय बैठकमा विगतमा जस्तो कुनै एजेन्डा तय भएको छैन ।
बिहीबार अपराह्नसम्म बैठकको कुनै पनि एजेन्डा बारे जानकारी नगराइएको एक सचिवालय सदस्यले जानकारी दिए ।
पार्टी विभाजन सम्मको कुरा र एकले अर्कालाई दोष लगाउने अवस्थासम्म पुगेको विवादकाबीच बस्न लागेको सचिवालय बैठकले के गर्छ भन्ने जनचासो रहेको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एकले अर्को पक्षलाई दबाब सिर्जना गर्न लागिरहेका छन् ।
सचिवालय बैठक अगाडि दुवै पक्षले बिहीबार साँझ आआफ्ना रणनीति बनाएका छन् ।
दाहाल–नेपाल पक्षले यसअघिका राजदूत र मन्त्री नियुक्ति गरिएको विषय सच्याउनुपर्ने भन्दै दबाब दिने भएका छन् ।
सबै नियुक्ति दलको विधि, नीति अनुरूप हुनुपर्ने र नियुक्ति अगाडि दलभित्र छलफल गर्नुपर्ने निर्णय गराउने पक्षमा देखिएका छन् ।
सचिवालयमा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन ओली पक्ष लागेको छ ।
उनलाई उपप्रधानसहित रक्षा मन्त्रालय दिने वा मन्त्रिपरिषद् पुनर्गठन गर्दा अर्को मन्त्रालय दिन सक्ने गरी छलफल चलाएको स्रोतको दावी छ ।
शुक्रबार बस्ने बैठकलाई लिएर ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल–वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूले बिहीबार भिन्दाभिन्दै छलफलसमेत गरेका छन् ।
दाहालले सचिवालयका पाँच नेतासँग खुमलटारमा छुट्टाछुट्टै छलफल गरेका थिए । सो छलफलमा उपाध्यक्ष गौतम उपस्थित नभएको बताए पनि दाहालको सचिवालयले भने उनी ढिलो आएको दावी गरेको छ ।
२६ भदौमा सकिएको स्थायी कमिटी बैठकले दुई अध्यक्षको कार्यविभाजनसहित १६ बुँदे प्रस्ताव पारित गरेको थियो ।
प्रस्तावको कार्यान्वयनमा कुनै प्रगति छैन । बरु नेकपामा दुवै पक्षले एकअर्काले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् । आरोप प्रत्यारोपकैबीच बस्न थालेको बैठकमा पनि विगतमा जस्तै तनावको सम्भावना छ ।
पार्टि सचिवालय बैठकमा गौतमले साथ नदिए विवादित सबै विषय केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी दाहाल–नेपाल समूहको रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar