२७ कार्तिक,संखुवासभा – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट्छ कि भनेर चिन्ता नलिन आग्रह गरेका छन् ।
उनले ५० वर्ष अघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै यहाँसम्म ल्याइपुर्याएकाले यो फुट्ने कल्पना नगर्न आग्रह गरेका हुन् । विभिन्न परियोजनाको निरीक्षण गर्न बुधबार दिनभर संखुवासभाका विभिन्न स्थान पुगेका प्रधानमन्त्रीले त्यहाँ आयोजित कार्यक्रममा पार्टी फुटका विषयमा कुरा राखेका हुन् ।
उनले नजिकै आएर नभेटेका र कुरा नबुझेकाले मात्रै गाली गरिरहेको बताए । ‘पार्टीभित्रका समस्याहरू, म अध्यक्ष छु तपाईंहरू किन चिन्ता गर्नुहुन्छ, यो पार्टी यत्तिकै बनेको होइन’, उनले भने, ‘५० वर्ष अगाडि जुँगामा बल्ल रेखी बस्दै थियो, अहिले टन्न फुलेको देख्नुभएको छ । त्यस बेलादेखि टुटेफुटेको पार्टी मिलाउँदै मिलाउँदै यहाँ पुर्याएको हो ।’
प्रधानमन्त्री ओलीले देशमा अस्थिरता चाहनेले पार्टी विभाजन र सरकार परिवर्तनको हल्ला चलाएको बताए । उनले त्यस्ता कुराको पछाडि नलाग्न भन्दै आपूmले राजीनामा दिने कुरै नआउने स्थानीयलाई सुनाए ।
आफू जनमतबाट प्रधानमन्त्री भएकाले तत्काल राजीनामा नदिने बताएका हुन् । ‘म जनताको विश्वासले सरकारमा आएको हो । अहिले सरकार परिर्वतन हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु व्यर्थ छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्ला मात्रै भएको पनि प्रधानमन्त्री ओलीको दाबी थियो । जनताले आवश्यकता देखेर, देशको आवश्यकता बुझेर आफू प्रधानमन्त्री भएको उनको भनाइ थियो ।
उनले त्यहाँ पुगेर किमाथाङ्काको बिओपी, उत्तर-दक्षिण कोसी राजमार्ग र अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षण गरेका थिए ।
चीनसँग जोडिएको किमाथाङ्का नाका र उत्तर-दक्षिण कोसी राजमार्गको अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन् ।
चीन, भारत र नेपाललाई जोड्ने उक्त मार्ग देशकै महत्वपूर्ण बाटो रहेको बताउँदै यसका लागि सरकारले प्राथमिकता दिएको उनले सुनाए ।
प्रधानमन्त्री ओलीले संखुवासभाको किमाथाङ्का सडकखण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिइसकिएको र सडक ट्रयाक खुलेपछि कालोपत्रसम्मको काम क्रमशः हुने बताए ।
उत्तर-दक्षिण कोसी सडक निर्माणपछि किमाथाङ्का निकै नजिक हुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले अरुण तेस्रोको कामबाट आफू सन्तुष्ट रहेको बताए ।
उनले अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको हवाइ अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा अरुण तेस्रो जलविद्युत परियोजनाका कार्यकारी प्रमुख अरुण धिमानले प्रगति विवरण पेस गरेका थिए ।
नौ सय मेगावाट क्षमताको अरुण तेस्रो परियोजना सन् २०२२ मा सम्पन्न हुने परियोजना विकास सम्झौता (पिडिए) मा उल्लेख गरिएको छ ।
१ खर्व ४४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुनेछ भने विभिन्न शीर्षकमा ३ खर्ब ४८ रुपैयाँ लाभ लिनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar